Sunday, January 19, 2025
spot_img

१५ वर्षदेखिकाे सडक बत्ती महसुल तिर्न कपिलवस्तु नगरपालिका सहमत, ५ कराेड बक्याैता बाँकी

spot_img

Share

spot_img

कपिलवस्तु नगरपालिकाले २०६५ सालदेखिको सडक बत्तीको विद्युत महसुल बक्यौता तिर्ने भएको छ । डेढ दशकदेखिको सडक बत्तीको करिब ५ करोड रुपैयाँ बराबरको महसुल बक्यौता तिर्न नगरपालिका सहमत भएको हो ।

नेपाल विद्युत प्राधिकरणको तौलिहवा वितरण केन्द्र र नगरपालिकाबीच आइतबार ६० किस्तामा अहिलेसम्मको सबै विद्युत बक्यौता तिर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार वितरण केन्द्रले नगरपालिकालाई सम्पूर्ण विद्युत् महसुल बक्यौता तिर्न ६० किस्ताको सुविधा दिनेछ ।

आगामी बैशाख ७ गतेभित्र नगरपालिकाले मोडालिटी तयार गरी पहिलो किस्ता बैशाखबाटै तिर्न सुरु गर्ने सहमति बनेको वितरण केन्द्र प्रमुख गौरव पाण्डेले बताए । ‘नगरपालिकाले सडक बत्ती जडान गरेदेखिकै विद्युत महसुल तिरेको थिएन,’ उनले भने, ‘हामीले ३ महिनादेखि निरन्तररूपमा ताकेता गरेपछि नगरपालिका अहिलेसम्मको सबै बक्यौता तिर्न सहमत भएको छ ।’

उनले नयाँ बिलको महसुल भने चैत महिनाबाटै नियमितरूपमा उठाउन सुरु गर्ने सहमति बनेको बताए । नगरपालिकाले २०६५ सालदेखि सडक बत्ती बाल्दै आएको भए पनि अहिलेसम्म विद्युत महसुल तिरेको थिएन । १५ वर्षदेखिको बाँकी बक्यौता बढेर ४ करोड ९७ लाख ९८ हजार ६ सय २६ रुपैयाँ पुगेपछि बल्ल तिर्ने सहमति बनेको हो ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयकाे निरन्तरकाे आह्वान निरन्तररूपमा ताकेता गरेर अनुरोध गरेपछि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालकाे समन्वय र नगरपालिकाका मेयर सुदिप पौडेलको सहयोगमा सडक बत्तीकाे विद्युत महसुल बक्यौता उठाउने प्रक्रिया निश्कर्षमा पुगेकाे पाण्डेले बताए ।

नगरपालिका क्षेत्रमा प्राधिकरणको वितरण प्रणालीबाट चलेका ६ हजार ७ सय ७० सडक बत्ती छन् । यी मध्ये अधिकांश बत्ती २४ घन्टा नै बलिरहने गरेकाले तिनको पनि अब नियमन गर्ने उनले बताए । नगरपालिका क्षेत्रभित्र बालिएका सडक बत्तीको मिटर नहुँदा विद्युत् प्राधिकरणलाई महसुल उठाउन समस्या थियो । अब पहिलो चरणमा प्राधिकरणले नै सडक बत्तीका लागि २१० वटा पोलमा तार तानेर मिटर राख्ने सहमति पनि नगरपालिकासँग बनेको वितरण केन्द्रले जनाएको छ ।

कपिलवस्तु जस्तै देशका अधिकांश स्थानीय तहले नियमितरूपमा सडक बत्तीको विद्युत महसुल तिरेका छैनन् । प्राधिकरणले पछिल्लाे समय वर्षाैंदेखिकाे विद्युत बक्याैता उठाउन ताकेता गर्दै आएकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img