काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले गर्न लागेकाे ‘ऊर्जा सम्मेलन–२०८२ (पावर समिट २०२५)’ को मिति सरेकाे छ । आगामी असोज १ र २ गते साेल्टी हाेटेलमै सम्मेलन आयोजना गर्ने जानकारी दिएको इपानले सम्मेलनको मिति परिवर्तन गरेको जानकारी दिएको हो ।
अब, पावर समिट आगामी असोज २९ र ३० गते (अक्टोबर १५–१६, २०२५) सोल्टी होटल, काठमाडौंमा आयोजना हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका लागि आगामी भदौ ३१ र असोज १ गतेको मिति तय भएको र प्रधानमन्त्रीको भ्रमण टोलीमा इपानको नेतृत्व टोलीसमेत सहभागी हुने भएकोले सम्मेलन सारिएको इपानले जनाएको छ । सन् २००६ देखि हरेक २÷२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको नवौँ संस्करण हो ।
सरकारले अघि सारेको सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयन गर्न र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा लैजान ३० भन्दा धेरै देशका लगानीकर्ता, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारी, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनि भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्यले इपानले सम्मेलनको नवौँ संस्करण आयोजना गर्न लागेको जनाएको छ ।
सम्मेलनलाई नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व प्राप्त भएको र कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहने तय भइसकेको छ ।








