काठमाडाैँ । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाटकाे बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत आयोजनामा लगानीको टुंगो लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने तय भएको हाे ।
कम्पनी अध्यक्ष हिमप्रसाद पाठकका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले आयोजनामा लगानी गर्ने तय भएको छ । वित्तीय व्यवस्थापनको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिड बैंक रहेको छ भने सहायक लिड बैंकको रुपमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । आयोजनामा लगानी गर्ने अन्य संस्थामा एचआईडिसिएल, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, निफ्रा, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन् । आयोजनामा ७५ प्रतिशत बैंकमार्फत र २५ प्रतिशत स्वपुँजी लगानी हुने छ ।
आयोजना गाेरखाकाे चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ । अहिलेसम्म आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ भने विद्युत् विकास विभागबाट २०८० साल पुस ५ गते नै उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ ।
आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन गरिएको छ । भूमिगत विद्युत्गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिने छ । आयोजनाबाट २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ ।
उत्पादित विद्युत् विद्युत्गृहदेखि करिब ४५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा निर्माण हुने ४०० केभीको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिने छ ।
टाइम्स इनर्जी साहास ऊर्जाकाे सहायक कम्पनी हाे । साहासले यसअघि ८६ मेगावाटकाे साेलु दूधकाेसी जलविद्युत निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेकाे छ । अहिले सञ्चालनमा रहेकाे साेलुदूधकाेसी निजी क्षेत्रले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएकाे सबैभन्दा पहिलाे ठूलाे आयोजना हाे ।








