Monday, January 19, 2026
spot_img

३४१ मेगावाटकाे बुढीगण्डकीमा १० बैंक तथा वित्तिय संस्थाकाे साढे ५२ अर्ब लगानी

spot_img

Share

spot_img

काठमाडाैँ । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाटकाे बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत आयोजनामा लगानीको टुंगो लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी सम्झाैता सम्पन्न भएको हाे ।

आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब ५० कराेड रुपैयाँ लगानी गर्ने गरी सम्झाैता सम्पन्न भएकाे छ । प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी संचालक सुशील थापा र र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिड बैंक रहेको छ भने सहायक लिड बैंकको रुपमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । आयोजनामा लगानी गर्ने अन्य संस्थामा एचआईडिसिएल, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, निफ्रा, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन् ।

आयोजना सम्पन्न गर्न ७० अर्ब रुपैया लागत अनुमान गरिएकाे छ । आयोजनामा ७५ प्रतिशत बैंकमार्फत र २५ प्रतिशत स्वपुँजी लगानी हुने छ । परियोजनामा नेतृत्वकर्ता बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब ऋण लगानी गर्नेछ ।

सह नेतृत्व गर्ने नबिल बैंकले ८ अर्ब, लक्ष्मी सनराइज बैंकले ८ अर्ब र  ग्लोबल आईएमई बैंकले ७ अर्ब ऋण लगानी गर्ने छन् । यस्तै, एचआईडीसीएलले ४ अर्ब, माछापुच्छ्रे बैंकले ४ अर्ब, सिटिजन  बैंकले ३ अर्ब, निफ्राले ३ अर्ब, प्रभु बैंकले ३ अर्ब र कृषि विकास बैंकले २.५ अर्ब ऋण लगानी गर्नेछन् । 

आयोजना गाेरखाकाे चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ । अहिलेसम्म आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ भने विद्युत् विकास विभागबाट २०८० साल पुस ५ गते नै उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ ।

आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन गरिएको छ । भूमिगत विद्युत्‌गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिने छ । आयोजनाबाट २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ ।

उत्पादित विद्युत् विद्युत्‌गृहदेखि करिब ४५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा निर्माण हुने ४०० केभीको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिने छ ।

निजी क्षेत्रले यसअघि पूर्वको तमोर नदीमा २८५ मेगावाटको माथिल्लो तमोरमा लगानी व्यवस्थापन गरी निर्माण गरिरहेको छ । जसको कुल लगानी ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा प्रवर्द्धक तमोर इनर्जी प्राली र अन्य बैंकहरूबीच २०८१ साल जेठ २४ गते लगानी सम्झौता भएको थियो ।

टाइम्स इनर्जी साहास ऊर्जाकाे सहायक कम्पनी हाे । साहासले यसअघि ८६ मेगावाटकाे साेलु दूधकाेसी जलविद्युत निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेकाे छ । अहिले सञ्चालनमा रहेकाे साेलुदूधकाेसी निजी क्षेत्रले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएकाे सबैभन्दा पहिलाे ठूलाे आयोजना हाे ।

वित्तीय व्यवस्थापन कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोज्नेहरूका लागि साहज ऊर्जा र यसले लगानी गरी निर्माण गरेका आयोजना गतिलो जवाफ भएको बताए । उनले विगतकै अनुभवका आधारमा यो आयोजना पनि समयमै निर्माण पूरा हुने अपेक्षा रहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्रको क्षमता वृद्धि हुँदै यो स्तरको आयोजना विकास हुने आफैँमा खुसीको कुरा भएको बताए । उनले ५ वर्षभित्रै लगानी उठ्ने अनुमान गरिएको यो आयोजना आकर्षक भएको र समयमै निर्माण सम्पन्न हुने अपेक्षा रहेको बताए । कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्ने काम मात्र गरे पनि ठूला आयोजनाहरू निर्माण गर्न सकिने बताए ।

लगानीकर्ता बैंकहरूका तर्फबाट सम्बोधन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेले साहस ऊर्जाले यसअघि ८६ मेगावाटको सोलु दूधकोशी समयमै निर्माण पूरा गरेर सञ्चालनमा ल्याएकोले यो नेतृत्वको अनुभव र काम गर्ने शैलीका कारण यो आयोजनामा लगानी गर्न बैंकहरू तयार भएको बताए । टाइम्स इनर्जीका प्रालिका अध्यक्ष हिमप्रसाद पाठकले आयोजनाको विषयमा विस्तृत जानकारी दिँदै निजी क्षेत्रको यति ठूलो आयोजनामा लागानी जुट्नु आफैँमा खुसी र गर्वको कुरा भएको बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img