काठमाडाैँ । अपि पावर लिमिटेडले दिव्यज्योति हाइड्रो पावर प्राईभेट लिमिटेड कम्पनीकाे शेयर खरिद गर्ने निर्णण गरेकाे छ । कम्पनीकाे साउन २७ गते बसेको संचालक समितिको बैठकले सो कम्पनी र सो कम्पनीले प्रवर्द्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने निर्णय गरेको हो ।
आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट सो आयोजना निर्माण तथा संचालन गर्न मनासिब देखिएको हुँदा उक्त कम्पनी प्राप्ती गर्ने निर्णय गरिएको अपि पावर प्रबन्ध निर्देशक सन्जिव न्याैपानेले जानकारी दिए । उक्त कम्पनीमा विद्यमान शेयरधनीहरुको सम्पूर्ण शेयर अपि पावर कम्पनी लिमिटेडले खरिद गरी कम्पनी व्यवस्थापन पूर्ण रुपमा अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहने गरी कम्पनी संचालन गर्ने निर्णय बैठकले गरेको छ ।
हालसम्म मर्स्याङ्दी आयोजना निर्माणको कुनै पनि काम सुरु नभएकोले दशैँपछि आयोजना निर्माणमा लैजाने याेजना छ । उनका अनुसार अपिले बहुमत सेयर लगानी गरी अघि बढाउन लागेको यो चौथो कम्पनी तथा आयोजना हो ।
यसअघि दार्चुला पावर लिमिटेड, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड र इङ्वा हाइड्रोपावर लिमिटेडमा कम्पनीले बहुमत सेयर लगानी गरी नेतृत्व गरिरहेको छ । अपि पावरलाई नेपालको निजी क्षेत्रकै सबैभन्दा ठूलो, सेयरधनीलाई बढी प्रतिफल दिने र अब्बल कम्पनीका रूपमा विकास गर्न याे निर्णय लिएकाे न्याैपानेले जानकारी दिए ।
जलविद्युत् आयोजना, सौर्य विद्युत् आयोजना, वायु ऊर्जा र हाइड्रोजनसमेत उत्पादन गरी मिश्रित ऊर्जा उत्पादनमा नेपालकै सर्वोत्कृष्ट कम्पनी बन्ने अपि पावरकाे याेजना छ ।








