काठमाडौँ । आजभोली दैनिक ३५० देखि ४०० मेगावाटको हाराहारीमा विद्युत् खेर गइरहेको जनाइएको छ । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टा लोडसेडिङ हुनेमा अहिले दैनिक विद्युत् खेर गइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले दैनिक साढे तीन सयदेखि ४ सय मेगावाटको हाराहारीमा विद्युत् खेर गइरहेको बताए ।
‘अहिले नेपालको विद्युत् जडित क्षमता करिब ३६०० मेगावाट रहेको छ । जसमा करिब २२०० मेगावाट आन्तरिक खपत भइरहेको छ । बाँकी करिब १००० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यातका लागि अनुमति पाएको छ’ उनले भने, ‘बाँकी रहेकाे विद्युत् खेर गइरहेको छ ।’
उनले आन्तरिक खपतको सुनिश्चितता नगरी विद्युत् खरिद सम्झौता (पीपीए) खोल्दा विद्युत् खेर गइरहेको पनि बताए । मर्स्याङ्दी कोरिडोर, खिम्ती कोरिडोर, त्रिशुली कोरिडोरको विद्युत् खेर गइरहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएको थियो जसमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत र स्वतन्त्र विद्युत् उत्पादकहरूको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत् भारतबाट आयात गरिएको थियो । नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आ.व.को तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको थियो ।
२०८२ असार १८ गते प्राधिकरणको प्रणालीमा सर्वाधिक माग २ हजार ९०१ मेगावाट रेकर्ड गरिएको थियो जसमध्ये २ हजार २१४ मेगावाट स्वदेशमै खपत भएको थियो भने ६८७ मेगावाट भारततर्फ निर्यात भएको थियो ।








