काठमाडौँ । जलविद्युत् विकासमा आक्रामक रूपमा अघि बढेको चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडकाे करिब ६ सय मेगावाटका जलविद्युत आयाेजनाहरू निर्माणका विभिन्न चरणमा रहेका छन् । कम्पनी आफैले निर्माण गरेकाे, गर्न लागेकाे र सहायक कम्पनीमार्फत यी आयाेजनाहरू अघि बढेका हुन् ।
कम्पनीका अनुसार अहिले सहायक कम्पनीसहित ५९६.४ मेगावाटका ९ जलविद्युत् आयोजना विभिन्न चरणमा छन् । यी आयोजनाहरूमध्ये केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन र निर्माणमा जाने चरणमा छन् ।
कम्पनी आफैले निर्माण गरेको २२.१ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाले नियमीत विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीको अगुवाईमा गठन भएका जलविद्युत् कमपनीहरूमार्फत निर्माण सम्पन्न भएका १६८.३ मेगावाटका ३ जलविद्युत् आयोजना रहेका छन् । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई आपूर्ति भइरहेको छ ।
सहायक कम्पनीमार्फत निर्माण भएकाे १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना भने अन्तिम चरणमा पुगेको छ । यो आयोजनाबाट विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ ।
कम्पनीले सम्भाव्यता अध्ययनका लागि अनुमति प्राप्त गरी अघि बढाएको ३०४ मेगावाटको जलविद्युत् आयोजना भने निर्माण कार्य सुरु हुने चरणमा छन् । ८७ मेगावाटको सेतीनदी–३ आशिक जलाशययुक्त, ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९१ मेगावाटको बुढीगण्डकी र ४५ मेगावाटको चुमचेत स्याखोला जलविद्युत् आयोजना निर्माण सुरु हुने चरणमा रहेको कम्पनीले जानकारी दिएको छ ।
बुढीगण्डकी प्रोक र स्यारखोला जलविद्युत् आयोजनाको निर्माण अनुमतिपत्र प्राप्त भइसकेको छ । बाँकी दुई आयोजनाको भने निर्माण अनुमति लिने प्रक्रियामा रहेको छ ।
यी आयोजनाहरूमध्ये बुढीगण्डकीको लागि सम्भाव्यता अध्ययन गर्न आयोजनास्थल मै गई महत्वपूर्ण जानकारी लिनुपर्ने भएकोले र सोका लागि नेपाल सरकारबाट अढाई वर्षसम्म पनि अनुमति नपाउँदा अध्ययनका कामहरू अवरुद्ध भएका थिए । हाल भने अनुमति प्राप्त भई कामहरू अघि बढाइएको छ ।
सेती नदी–३ आंशिक जलाशययुक्तको वित्तीय व्यवस्थापन गर्नका लागि विभिन्न वित्तीय संस्थाहरूसँग छलफल भइरहेको पनि कम्पनीले जानकारी दिएको छ । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक पहिलनै भएकोले वित्तीय व्यवस्थापन हुने लगतै निर्माण थाल्ने पनि कम्पनीले जानकारी दिएको छ ।
बुढीगण्डकी प्रोक र चुमचेत स्याखोला निर्माण गर्नका लागि आवश्यक पर्ने पहुँच सडक तयारी अवस्थामा नभएकोले तत्काल निर्माणका कामहरू भइरहेको छ । नेपाली सेनाको नेतृत्वमा सडक खन्ने काम भइरहेको छ । पहुँचमार्ग निर्माण सम्पन्न हुनेलगलै जलविद्युत् आयोजनाको पनि काम सुरु गरिनेछ ।











