काठमाडाैँ । लगानी बोर्ड नेपालको बैठकले ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत् परियोजना निर्माणका लागि ८ अर्ब ८४ करोड रूपैयाँ लगानी स्वीकृत गरेकाे छ । बाेर्डकाे ६५औँ बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।
यसैगरी, बैठकले ८०० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी, वित्तीय ढाँचालगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेस गर्ने कार्यका लागि प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विद्युत् प्रसारण लाइनको नयाँ रुट ‘अलाइनमेन्ट’को सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्द्धक कम्पनी कर्णाली ट्रान्समिसन कम्पनी प्रालिलाई सहमति प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।








