काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बेलायतमा बसोबास गर्ने नेपालीहरूलाई उज्यालो नेपाल अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
लन्डन नजिकैको केम्प्टन पार्कमा तमु धिं युकेले आयोजना गरेको १६औँ नेपाली मेलालाई सम्बोधन गर्दै उनले यो अभियान बत्तीको उज्यालो मात्र नभई नेपालको समग्र विकासका लागि सुरु गरिएको बताए ।
उनले सबैलाई अभियानमा साथ र सहयोग गर्न अनुरोध गरे । खाडी मुलुक, अमेरिका र युरोपका विभिन्न देशको भ्रमणपछि बेलायत पुगेका घिसिङले २०७२ को संविधानमा गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको प्रावधान समावेश भए पनि दश वर्षसम्म कानुन नबन्दा कार्यान्वयन हुन नसकेको बताए ।
हालैको एक अध्ययनले प्रवासी नेपालीले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुई डलरभन्दा बढी योगदान गरेको देखाएको उल्लेख गर्दै घिसिङले प्रवासी नेपालीहरू नेपालको महत्त्वपूर्ण सम्पत्ति भएको बताए । उनले एनआरएनलाई नेपालमा लगानीका लागि सहज वातावरण बनाउन र आवश्यक परे स्वदेश फर्कन तयार रहन आग्रह गरे ।








