काठमाडाैँ । काठमाडाैँकाे भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएकाे छ । मिडिया स्पेस सोलुसन्स्, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाको संयुक्त आयोजनामा भदौ १३ देखि १५ सम्म सञ्चालन गरिने भएको हो ।
प्रदर्शनीको सहयोगी संस्थामा नेपाल विद्युत् प्राधिकरण तथा नेपाल सौर्य विद्युत् उत्पादक संघ रहेका छन् । उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहने छन् ।
यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङका सामग्री, तार, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेकट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ्ग स्टेसन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने छ।
आयोजकका अनुसार, विभिन्न विद्युतीय माध्यमहरूको प्रयोगमा वृद्धि गरी मुलुकमा बढ्दो जलविद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रूपमा सबलीकरण गर्ने एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ यस प्रदर्शनीको आयोजना हुँदैछ।
विद्युतीय उपकरणहरूलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।








