Saturday, September 21, 2024
spot_img

ऊर्जा नेपालको अनुदानमा निर्माण भएको २३ चार्जिङ स्टेसनको उद्घाटन

spot_img

Share

spot_img

काठमाडौँ । अमेरिकी विकास साझेदार युएसएड अन्तर्गत युएसआइडी ऊर्जा नेपालको अनुदान सहयोगमा निजी क्षेत्रले निर्माण गरेको २३ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । ऊर्जा नेपालको अनुदान सहयोगमा बागमती प्रदेशको विभिन्न स्थानमा निर्माण भएको स्टेसनको मंगलबार (चैत २७ गते) औपचारिक उद्घाटन भएको हो ।

निजी क्षेत्रले प्रदेशका ७ ठाउँमा निर्माण गरेको स्टेसनको उद्घाटन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव सन्दिपकुमार देव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, युएसएड नेपालकी कार्यवाहक मिसन निर्देशक करेन वेल्च लगायतको उपस्थितीमा गरिएको छ ।

ऊर्जा नेपालको अनुदानमा यात्री डिजाइन स्टुडियो र इ–टोप प्रालिले ७ ठाउँमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालन गरिरहेका छन् । युएसएडको ऊर्जा नेपालले दुई कम्पनीलाई चाजिङ स्टेसन निर्माण गर्न अनुदान स्वरूप ३ लाख ४६ हजार ३ सय १५ अमेरिकी डलर बराबर अनुदान सहयोग उपलब्ध गराएको थियो । बाँकी १ लाख ८५ हजार अमेरिकी डलर कम्पनीहरूको लगानी छ । कूल लागतको ७० प्रतिशत अनुदान र ३० प्रतिशत निजी कम्पनी आफैँले लगानी छ ।

यात्रीले दोलखा, काभ्रे, काठमाडौँ, ललितपुर, धादिङ र तनहुँ गरी ६ स्थानमा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको संस्थापक असिम पाण्डेले बताए । उनले आगामी ५ वर्षमा १०५ बढी स्थानमा चार्जिङ स्टेसन बनाउने लक्ष्य रहेको जानकारी दिए ।

यसैगरी, ई–स्टपले चितवनको कुरिनटार चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएकाे छ । यो स्टेसनबाट दुई र चार पाङ्ग्रे सवारी चार्ज गर्न मिल्नेछ । सन् २०२८ सम्म थप १० वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना रहेको जनाइएको छ ।

ऊर्जा मन्त्रालयका सहसचिव देवले सन् २०३० सम्ममा ९० प्रतिशत निजी सवारी र ६० प्रतिशत सार्वजनिक गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने सरकारी लक्ष्य रहेको बताए । यो लक्ष्य पूरा गर्न र पेट्रोलियममाथिको परनिर्भरता घटाउन ऊर्जा नेपालको अनुदानमा बनेका चार्जिङ स्टेसनले महत्वपूर्ण योगदान पुर्याउने पनि उनले जानकारी दिए ।

‘सञ्चालन खर्चसँगै वातावरण संरक्षणमा योगदान पुर्याउने भएकोले यसको प्रवर्द्धका लागि मन्त्रालयले नीतिगत रूपमा सहयोग पुर्याउँदै आएको छ’ उनले भने ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालन गरिसकेको जानकारी दिए । उनले उपत्यका भन्दा बाहिर विद्युतीय सवारीको प्रयोग बढी देखिएकोले निजी क्षेत्रलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न ऊर्जा नेपाललाई अनुरोध गरे ।

‘यूएसएआईडी उर्जा नेपालको यो अनुदान पहलले प्राधिकरणलाई ठूलो सहयोग पुगेको छ । यो पहलले निकट भविष्यमा धेरै भन्दा धेरै चार्जिङ स्टेसनहरू स्थापना गर्ने र विद्युतीय सवारी साधनको उपयोगलाई व्यापक बनाउनका लागि महत्वपूर्ण योगदान पुर्याउँछ । म अन्य विकास साझेदारहरूलाई पनि यस्तै योगदान गर्न अनुरोध गर्न चाहन्छु’ उनले भने ।

‘नेपालमा विद्युत् उत्पादन व्यापक रूपमा बढीरहेको छ, हामीले सबस्टेसन तथा प्रसारण लाइनको क्षमता बढाउँदै छौ । दीर्घकालीन र गुणस्तरीय विद्युत् आपूर्ति हुने अवस्था सिर्जना भइसकेको छ,’ उनले भने, ‘अझै चार्जिङ स्टेसन निर्माण गर्नुहोस् । विद्युतीय सवारी र पूर्वाधारमा लगानी गर्नुहोस ।’

नेपालको सन् २०४५ सम्ममा नेट जिरोमा जाने लक्ष्य पूरा गर्न ऊर्जा नेपालले नवीकरणीय ऊर्जाको क्षेत्रमा गरिरहेको कामबाट सहयोग पुग्ने युएसएडका करेन वेल्चले बताइन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img