टुन्डी पावर कम्पनीले म्याग्दीमा निर्माण गरिरहेकाे ८४ मेगावाटकाे दुई जलविद्युत आयाेजनाकाे ८५ प्रतिशत निर्माण पूरा भएकाे छ । २०७७ सालदेखि निर्माण सुरू भएकाे यी आयाेजनाकाे निर्माण अन्तिम चरणमा पुगेकाे हाे ।
करिब १४ अर्ब रूपैयाँ लागतमा ४८.५ मेगावाटकाे माथिल्लाे राहुघाट र ३५.५ मेगावाटकाे मंगले राहुघाट जलविद्युत आयाेजनाकाे निर्माण भइरहेकाे छ । रघुगङ्गा गाउँपालिकामा निर्माण गरिरहेकाे ३५.५ मेगावाट मंगले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएकाे छ । नेपाल विद्युत प्राधिकरणसँग ३७.५ मेगावाटमा विद्युत खरित सम्झाैता भएकाे आयाेजनाकाे सुरुङ निर्माण पुरा भएकाे हाे ।
आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका-८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ झेडिएकाे हाे । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने १९०० मिटर लामो सुरुङ छेडिएको जानकारी दिए । ‘अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने १८०० मिटर लामो सुरुङ यसअघिनै जोडिएको थियो’, उनले भने, ‘बाँधदेखि विद्युतगृहमा पानी लैजान ५ हजार ३२८ मिटर लामो सुरुङ निर्माण भएको छ ।’
तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो । बाँध नजिकै निर्माण भएकाे पानी थिग्र्याउने पोखरीकाे काम पूरा भएकाे छ । मलाङको ‘आउटलेट’देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने ९०० मिटर पाइप लाइन जडान भइरहेको छ। ३०० मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ । आउटलेट र विद्युत्गृहको उचाइ ३५० मिटर छ । विद्युत्गृह निर्माणलाई अन्तिमरुप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ ।
तुन्दीले मंगले राहुघाटको विद्यतगृह नजिकै बगरखोलाको पानी मिसाएर ४८.५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ । बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युत्गृह जोड्ने अपर राहुघाटको ४ हजार ९०० मिटर लामो सुरुङ ६ महिनाअघि निर्माण भएको थियो ।
अपर राहुघाटको विद्युतगृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ । मंगले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट ‘सबस्टेसन’देखि चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ । प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ ।