काठमाडाैँ । भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेडले जेनजीहरूकाे कम्पनीलाई १० प्रतिशत शेयर निशुल्क नभइ सशुल्क सेयर दिन लागिएको प्रस्ट पारेकाे छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै दुवै कम्पनीबीच निःशुल्क सेयर लिने दिने सहमति नभएको स्पष्ट पारेको हो । निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न कम्पनीले आग्रह गरेको छ ।
असोज २६ गते कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरूको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडसँग सय रुपैयाँ अंकितमा १० प्रतिशत सेयर खरिद बिक्री गर्ने सम्झाैता भएकाे कम्पनीले जानकारी दिएकाे छ ।
‘जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशी पावर कम्पनीको दश प्रतिशत सेयरको लागि आवेदन दिन अगाडी जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानिय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाईसकेपछि भोटेकोशी पावर कम्पनीले प्रति सेयर बराबर अंकित मुल्य रु १००।– रहेको सेयर १० प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनी लाई बिक्रि गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि भोटेकोशी पावर कम्पनीले जमानी मात्रको व्यबस्था मिलाउने सहमति भएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निर्माण सम्पन्न भईसकेको आयोजना भएकोले भोटेकोशी पावर कम्पनीले बार्षिक रुपमा वितरण गर्ने लाभांसबाट दश प्रतिशत सेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएको कम्पनीले जनाएको छ ।











