काठमाडौँ । पाल्पाको तानसेन नगरपालिकाले विगत १४ वर्षदेखिको सडक बत्तीको विद्युत् महसुल बक्यौता तिर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले महसुल बुझाउन बारम्बार ताकेता गरेपछि किस्तामा महसुल बझाउन सहमत भएको हो ।
नगरपालिकाले सडक बत्ती प्रयोग गरेवापत २०८० चैतसम्मको ८ करोड ९९ लाख १२ हजार ६ सय ५५ रुपैयाँ महसुल बाँकी रहेको केन्द्र प्रमुख दिलीप मरासिनीले बताए । ‘२०८० चैतको मात्र ४ लाख ४१ हजार १०९ रुपैयाँ बक्यौता उठेको छ,’ उनले शुक्रबार ऊर्जा संचारसँग भने, ‘हामीले निरन्तर रूपमा ताकेता गरेपछि नगरपालिकाले अहिलेसम्मको सबै बक्यौता किस्ताबन्दीमा भुक्तानी गर्ने गरी सहमत भएको छ ।’
नगरपालिकाको चैत २८ गते बसेको बैठकले सडक बत्ती वापतको महसुल बुझाउने निर्णय भएको थियो । सोही बमोजिम वितरण केन्द्र र नगरपालिकाबीच चैत २९ गते छलफल गरी किस्तामा महसुल बुझाउने सहमति भएको हो ।
केन्द्र र नगरपालिकाबीच २०८० चैतसम्मको करिब ९ करोड र २०८० बैशाखदेखि असारसम्मको ४ लाख ४१ हजार १०९ रुपैयाँ बक्यौता बढीमा १२० किस्तामा तिर्ने सहमति भएको मरासिनीले जानकारी दिए । नगरपालिकाले आर्थिक वर्ष साउनदेखि किस्ताबन्दीमा महसुल बुझाउने बझाउने छ ।