काठमाडाैँ । बागलुङमा झण्डै १७ वर्षसम्म कागजमै थन्किएको दरमखोला जलविद्युत् आयोजना अन्ततः व्यावसायिक उत्पादनमा प्रवेश गरेको छ । विसं २०६५ मा निर्माण गर्ने योजना बने पनि विभिन्न व्यवस्थापकीय, आर्थिक र ठेकेदार चयनसम्बन्धी जटिलताले थिचिएको यो आयोजना विसं २०७७ मा निर्माणमा गएकाे थियाे । अहिले भने चार वर्षको लगातार निर्माणपछि आयोजना पूर्ण क्षमतामा उभिएको छ ।
गलकोट–८ काँडेबासमा ड्याम र मनेवापाटा (पश्चिमतर्फ ४.५ किमी) मा पावरहाउस निर्माण गरिएको यस आयोजनाले आइतबारदेखि व्यावसायिक उत्पादन औपचारिक रूपमा सुरु गरेको हो । गत असोज ३० गते नै केन्द्रीय प्रसारण प्रणालीमा जडान भइसके पनि उत्पादक परीक्षणका कारण नियमित व्यवसायिक आपूर्ति भने अब मात्र सुरु भएको हो ।
भूमिका बदलेपछि अघि बढ्यो आयोजना
दरमखोला हाइड्रोपावरको सुरुवाती इजाजत गोर्खा हाइड्रो पावर कम्पनीले पाएको थियो । तर दीर्घ समयसम्म ठोस प्रगति नभएपछि इजाजत रद्द गरियो । त्यसपछि स्थानीय तथा निजी लगानीकर्ताले मिलेर गठन गरेको दरमखोला हाइड्रो इनर्जी प्रालिले परियोजना पुनः निर्माणमा लगेकाे हो ।

अध्यक्ष नरबहादुर पुनका अनुसार “आयोजनाको सर्भे वर्षौंअघि भए पनि काम सुरु गर्नै नसक्ने स्थिति थियो । कम्पनी परिवर्तनपछि मात्रै वास्तविक निर्माण सुरु भयो र अहिले उत्पादन दिन सक्ने अवस्थामा पुगेका छौँ ।”
बर्खामा ९.६ मेगावाट, हिउँदमा ६.६ मेगावाट
आयोजनाले अहिले ६.६ मेगावाटकाे हाराहारीमा विद्युत उत्पादन गरिरहेकाे छ । इञ्जिनियर मिथिलेस चौधरीका अनुसार वर्षामा आयोजनाले ९.६ मेगावाट पुरै क्षमता दिन सक्छ । तर हिउँदे जलस्रोत घटेकाले हाल ६.६ मेगावाट आसपास उत्पादन भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत् १४ किलाेमिटर दुरीमा रहेकाे नेपाल विद्युत प्राधिकरणकाे हरिचौर सबस्टेसनमा प्रवाह हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
समय लम्बिनुका कारण : झन्झट, अवरोध र ठेक्का चुनौती
आयोजना निर्माण सम्पन्न गर्न करिब ४ वर्ष लागेकाे थियाे । निर्माण सम्पन्न गर्न ढिलाइ हुनुका प्रमुख कारणहरूमाः जिम्मेवारी बोकेको प्रारम्भिक कम्पनीको निष्क्रियता, ठेक्का लिने कम्पनीहरू रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिम हाइडल लिमिटेडसँगको तालमेल चुनौती, भौगोलिक कठिनाइ, तथा स्थानीय समस्या र स्रोत व्यवस्थापन प्रमुख रहेकाे जनाइएकाे छ । यी सबै बाधा पार गरेर आयोजना निर्माण पूरा गर्न दुई अर्बभन्दा बढी लगानी भएको अध्यक्ष पुन बताउँछन् ।

जिल्लाको सबैभन्दा ठूलो आयोजना : अब ग्रामीण बस्ती उज्यालो हुँदै
दरमखोला हाइड्रो पावर हालसम्म बागलुङमा सम्पन्न भएको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । स्थानियस्तरमा विद्युत् पूर्वाधार निर्माण र प्रसारण विस्तारसँगै दूरदराजका बस्तीमा स्थिर आपूर्ति पुग्ने अपेक्षा गरिएको छ ।








