काठमाडौँ । सानिमा हाइड्रो समूहको सहायक कम्पनी सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले निर्माण गरेकाे ७३ मेगावाटकाे मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाले २०८० चैत ३० गते (शुक्रबार) देखि उत्पादन थालेको हो । याे समूहले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हाे ।
ताप्लेजुङको फक्तालुङ तथा मिक्वाखोला गाउँपालिका र फुङलिङ नगरपालिकामा निर्माण सम्पन्न आयोजनाको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा गरेको आयोजना प्रशासन तथा वातावरण प्रमुख अरबिन्द श्रेष्ठले बताए ।
‘आयोजनामा रहने ४ युनिटमध्ये दुई वटाबाट करिब २५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ,’ उनले ऊर्जा संचारसँग भने, ‘एउटा युनिट पुर्ण क्षमताका सञ्चालनमा छ । अर्कोले भने आंशिक रूपमा बिजुली उत्पादन गरिहेको छ ।’ बाँकी दुईले पनि क्रमशः उत्पादन थाल्ने श्रेष्ठले जानकारी दिए ।
आयोजनाबाट उत्पादीत विद्युत् २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बसन्तपुर सबस्टेसनमा जोडिएको छ । यसअघि ढुंगेसाँघु सबस्टेसनमा जोड्ने योजना भएपनि सबस्टेसनको क्षमता १३२ केभी मात्र भएकोले बसन्तपुर सबस्टेसनमा जोडिएकाे हाे ।
अहिले आयोजनाको उत्पादन परीक्षण भइरहेको छ । आयोजनाबाट उत्पादीत विद्युत् १५ दिन प्राधिकरणलाई निशुल्क दिइने कम्पनीले जनाएको छ । प्राधिकरणले दुई साता परीक्षण पूरा गरेपछि व्यवसायीक विद्युत् उत्पादन हुनेछ ।
आयोजनामा ३३६७ मिटर लामो सुरुङ र २६४ मिटर लामो पेनस्टक पाइप निर्माण गरिएको छ । आयोजनाबाट वार्षिक ४२९.४०९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । सुख्खायाममा ६४.९० गिगावाट घण्टा र वर्षायाममा ३६४.२७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ ।
आयोजना सम्पन्न गर्न करिब १३ अर्ब ९७ कराेड रुपैयाँ खर्च हुने अनुमान छ । सुरुमा १२ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि कोरोना (कोभिड–१९) महामारी लगायत कारण आयोजनाको लागत बढेर १३ अर्ब ९७ पुगेकाे अनुमान गरिएको हो । आयाेजना निर्माण पूरा हुँदा सम्म प्रतिमेगावाट लागत १९ कराेड १४ लाख रुपैयाँ खर्च भएकाे हाे । आयोजनामा नेपाल इन्भेष्टमेन्ट, कृषि विकास, लक्ष्मी (लक्ष्मी सनराइज) सिद्धार्थ लगायत ८ बैंकले ९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी स्वपुँजी लगानी छ ।
आयोजनामा मुख्य सिभिल संरचना निर्माणको काम चच्याङ फस्ट हाइड्रो तथा पावर कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, इलेक्ट्रो मेकानिकल सिडब्लूटीडब्लु, हाइड्रो मेकानिकल माछापुच्छ्रे मेटल तथा मेसिनरी वर्क प्रालि र प्रसारण लाइनको काम कस्मिक इलेक्ट्रिकल लिमिटेडले गरेको हो । यस्तै, आयोजनाको डिजाइन तथा सुपरिवेक्षणको काम परामर्शदाता कम्पनी सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिले गरेको हो ।