काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)ले लाखौ रुपैयाँ खर्चे गरेर नेपालमै पहिलोपटक हाइड्रोजनबाट चल्ने गाडी सञ्चालनमा ल्यायो । काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन स्थापनी गरी हाइड्रोजनको कारको परीक्षण समेत सफल भयो ।
तर, सरकारले यसप्रति चासो नदिँदा अहिलेसम्म उद्घाटन हुन नसेको छैन । जसले गर्दा आगामी १२ देखि १४ गतेसम्म हुने ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो हिलालयन हाइड्रो एक्स्पो २०८१’ मा स्टल राख्ने टुंगो लागेको छैन ।
केयूले चैत तेस्रो साता हाइड्रोजनबाट चल्ने गाडीको सफल परीक्षण गरेको थियो । ग्रीन हाइड्रोजनको क्षेत्रमा निकै ठूलो उपलब्धी हासिल भएपनि यसतर्फ सरकारको चासो नभएको गुनासो छ ।
निर्मित ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाललाई कारमा चढाएर गर्ने केयूको तयारी थियो । प्रधानमन्त्री दाहालको पनि यही इच्छा भएपनि अहिलेसम्म समय नै नदिएको केयूका सहप्राध्यापक एवं ग्रीन हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले बताए ।
‘ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको उद्घाटनपछि केयूसँग भएको हाइड्रोजन गाडी, हाइड्रोजन इन्धनको प्रवद्र्धन गर्न विभिन्न स्थलमा लगेर प्रदर्शनीमा राख्ने योजना छ’, उनले ऊर्जा संचारसँग भने, ‘तर, सरकारको हाइड्रोजन प्रतिको वेवास्ताले गर्दा अहिले अलमलमा परेका छौ ।’
‘प्रधानमन्त्री कार्यालयबाट उद्घाटनका लागि समय दिन नसक्ने सूचना आयो भने एक्स्पो मै राष्ट्रपति राजचन्द्र पौडेललाई हाइड्रोजन गाडी चढाएर उद्घाटन गर्न पनि सकिन्छ । तर त्यसका लागि पूर्वतयारीको आवश्यक पर्छ’ उनले भने । हाइड्रोजन कार सञ्चालनका लागि सरकारले सहज बातावरण तथा उपयुक्त नीति नियम बनाउनु पर्ने बेला उद्घाटनका लागि समेत वास्ता गरेको छैन ।
केयू परिसरमै प्रधानमन्त्रीद्वारा उद्घाटन गरेर एक्स्पोमा राष्ट्रपति पौडेललाई कार चढाउने केयूको योजना थियो । साथै, ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न प्रमुख राजनितिक दलका शीर्ष नेता, प्रतिनिधिसभाका सभामुख लगायतलाई पनि हाइड्रोजन गाडी चढाउने योजना केयूको छ ।