नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको छ । सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको छ ।
सरकारले निर्धारण गर्ने लक्ष्य, लिएको प्रतिवद्धता पूरा गर्नका लागि महत्वपूर्ण रुपमा मानिएको हिमालन हाइड्रो एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) हुने भएको छ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा हुने लागेको एक्स्पोको संरक्षकत्वमा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपाल र हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय/कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरूकोबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरूको प्रर्दशनी हुनेछ । यसै विषयमा ऊर्जा संचारले चार व्यक्तिलाई गरेकाे चार प्रश्नः
बलराम खतिवडा, महासचिव–स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)
एक्स्पोले ऊर्जा क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी सबैलाई सकारात्मक प्रभाव पार्दछ । तेस्रो लगानी सम्मेलनकोे पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुनेछ । एक्स्पोमा ऊर्जा उत्पादकहरूको समस्या पहिचान गरी समाधान हुनेछ, ऊर्जा क्षेत्रको नवीन प्रविधि तथा विषयको जानकारी तथा जलविद्युत् आयोजनाको पहिचानदेखि निर्माण, सञ्चालन, उत्पादन तथा बिक्री वितरणसम्मको प्रक्रियाको बारेमा जानकारी प्राप्त हुन्छ ।
परामर्शदाता, लगानीकर्ता, ठेकदारहरू, बैक इन्सोरेन्स लगायतसँग प्रत्यक्ष भेटघाट गरेर जानकारी लिन सकिनेछ । लगानीको वातावरण सिर्जना हुन्छ । सबै पक्षहरू एउटै छानामुनी भएपछि आफुलाई चाहिएको सबै जानकारी एकैचोटी लिन सकिन्छ । एक्स्पोमा नीति, वित्तीय व्यवस्थापन, खपत, निर्यात, जलवायु लगायतका विषयमा आधा दर्जन भन्दा बढी प्राविधिक सत्र हुने भएकोले सर्वसाधारणदेखि लगेर ऊर्जा विषयमा इच्छा राख्नेलाई जानकारी प्राप्त हुन्छ ।
ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएको यो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुन्छ ।
डा.विराजसिंह थापा, प्राध्यापक–काठमाडौँ विश्वविद्यालय (केयू), प्रमुख–ग्रीन हाइड्रोजन ल्याप
केयूले हालै सफल परीक्षण गरेको हाइड्रोजन कार हिमालन हाइड्रो एक्स्पोमा राख्ने तयारी भइरहेको छ । एक्स्पो यस्तो अवसर हो, जहाँ सबै क्षेत्रका मानिसहरूको भेला हुने र छलफल गर्ने, प्रर्दशनी गर्ने गरिन्छ । यहाँ व्यवसायी, लगानीकर्ता, प्रवद्र्धक, नीति निर्माणकर्ता, विज्ञ, राजनीतिक दललगायत सबै पक्षको सहभागी हुन्छ । हामीले पनि हाइड्रोजन कारलाई प्रर्दशनीमा राखियो भने यसले व्यापकता पाउनेछ । यो नेपालको लागि एकदमै नयाँ हो । हामीले यसको सफल परीक्षण गरिसकेका छौँ । अब यसलाई व्यवसायिकीकरण गर्नुपर्छ, यसको सुरुवात यही एक्स्पोबाट हुन्छ की भन्ने हाम्रो आशा छ ।
हाइड्रोजन कारप्रति अरुको चासो बढ्दै गएको छ । एक प्रकारको उत्साह आएको छ । यो उत्साहलाई व्यवसायमा रुपान्तरण गर्न सकिएन भने यो विलय हुन्छ । यो मौका हो, अवसर हो, यसलाई गुमाउनु हुँदैन् । यसैका लागि जानकारी दिन पनि प्रर्दशनीमा राख्ने योजना छ । हाइड्रोजन तथा कार उत्पादन, सञ्चालनका लागि अहिलेसम्म केही कानूनी प्रावधान छैन् । यसका लागि नीति, नियम आवश्यक छ । एक्स्पोमा व्यवसायीदेखि नीति निर्माणकर्तासम्मको उपस्थिती हुने भएकोले हाइड्रोजन कारका लागि सहज वातावरण तथा उपयुक्त नीति बन्छ कि भन्नेमा विश्वस्त छौ ।
गुणराज ढकाल, अध्यक्ष–नवीकरणीय ऊर्जा परिसंघ, नेपाल (रिकोन)
नवीकरण ऊर्जा सरकारको प्राथमिकतामा पर्न सकेको छैन । विश्वमा ऊर्जा मिश्रणमा नवीकरणीय ऊर्जाको हिस्सा ४० प्रतिशतसम्म नेपालमा भने ५ देखि १० प्रतिशतमा सिमित राखिएको छ । त्यही माथि सरकारले विद्युत् खरिद सम्झौता –पिपिए) गरिदिदैन, प्रसारण लाइनको समस्या हुन्छ । एक्स्पो उच्च तहमा पदाधिकारी, सरोकारवालाको उपस्थिती हुने भएको यस्ता समस्याको समाधान हुने, नवीकरणीय ऊर्जा निर्माणका लागि सहज वातावरण निर्माण हुने अपेक्षा छ । ऊर्जा क्षेत्रको विकास लागि लगानीको वातावरण सिर्जना हुनेछ, अन्तराष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता पूरा गर्न सहयोग पुग्छ ।
एक्स्पोमा व्यावसायीले भोग्नु परेको समस्या के हो ? वित्तीय व्यवस्थापनमा समस्या कता छ ? नीति निर्माण तथा कार्यान्वयनमा पक्षको अवस्था के छ ? लगायतका यावत विषयहरूको जानकारी प्राप्त गर्न सकिन्छ । सकारले यस तर्फ ध्यान नद्रिँदा नवीकरणीय ऊर्जा प्रवर्द्धन र विकासमा लामो अनुभव, लगानी तथा विज्ञता हासिल गरेका जनशक्ति पयालन भएको अवस्था छ । यस्ता समस्या निकारणका लागि एक्स्पोले केही हदसम्म भूमिका निर्वाह गर्न सक्नेछ ।
कृष्ण पराजुली, अध्यक्ष– नेपाल सौर्य विद्युत् उत्पादक संघ
एक्स्पो हुन भनेको निजी क्षेत्रहरूको लागि धेरै राम्रो कुरा हो । सौर्य ऊर्जालाई पनि एक्स्पोको प्रर्दशनीमा राखियो भने यसका प्रशस्त फाइदा छन् । एक्स्पोमा नीति निर्माणकर्ता लगायत सरोकारवाला तथा सर्वसाधारणको सहभागिता उच्च हुन्छ । नवीकरणीय ऊर्जाको महत्वपूर्ण स्रोत सौर्यलाई पनि प्रर्दशनीमा राख्ने हाम्रो योजना छ । पछिल्लो समय सौर्य ऊर्जाको विकास हुदै राष्ट्रिय प्रणालीमा यसको योगदान बढ्दै छ । तर, सरकारले पिपिए नगरिदिँदा, यसप्रति स्पष्ट नीति नहुँदा यस क्षेत्रको विकास अपेक्षाकृत रूपमा हुन सकेको देखिदैन । मैले सबै सदस्यहरूलाई एक्स्पोमा सहभागी हुन आग्रह गरेको छु ।