काठमाडाैँ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पश्चिम सेती करिडोरमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि पुनः निजी क्षेत्रसँग आशयपत्र मागेको छ । कम्पनीले गत भदौ २३ गते यसै परियोजनाका लागि पहिलोपटक प्रस्ताव आव्हान गरेको थियो । तर निजी क्षेत्रबाट प्रस्ताव नआएपछि पुनः प्रक्रिया अघि बढाइएको हो ।
यो प्रसारण लाइन बझाङ्ग–बनलेक–दोदोधारा हुँदै कुल करिब १४५ किलोमिटर रहनेछ । परियोजनाले १६० मेगावाट क्षमताको चेनपुर र ३१५ मेगावाट क्षमताको बनलेक सबस्टेशन निर्माण घोषणासँगै सँगै थप ऊर्जा संरचनालाई मजबुत बनाउने लक्ष्य राखेको छ । जग्गा प्राप्ति र सर्वेक्षण जस्ता पूर्वतयारी कार्यहरू पनि सम्पन्न रहेको जनाइएको छ ।
उक्त प्रसारण लाइन तथा दुईवटा सवस्टेशन बनाउन २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । लाइन बनाउन स्वपुँजीको कम्तिमा ५१ प्रतिशत सरकारी निकाय र ४९ प्रतिशत निजी प्रवर्द्धक र पब्लिक कम्पनीहरूको लगानी रहने गरी लगानी माेडालिटी तयार गरिएकाे छ ।
कम्पनीले १५ दिनभित्र निजी आयोजनाकर्ताबाट आशयपत्र पेस गर्न आग्रह गरेको छ । यो परियोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढ्नेछ । यसअन्तर्गत चैनपुर र बनलेक सबस्टेशन सँगसँगै बर्दगौरिया–दोधारा सबस्टेशनमा प्रसारण लाइन जोडिनेछ ।
देशको प्रसारण संरचना विस्तारका प्रयास देशभरि अघि बढिरहेका छन् । उच्च क्षमताकाे ४०० केभी लाइनहरूले ठूलो मात्रामा विद्युत् ढुवानी र अन्तरसम्बन्धित ग्रिड प्रणालीलाई मजबुत बनाउने उद्देश्य राखिएको छ । विगतमा नेपालको प्रसारण प्रणालीलाई निजी–सरकारी साझेदारीमार्फत विकसित गर्ने प्रयास निरन्तर भइरहेको छ, जसले ग्रिड कनेक्सन सम्झौता लगायतका परियोजनाहरूलाई समेत प्रोत्साहन दिएको छ ।
यो परियोजना सफल रूपमा अघि बढेमा पश्चिम क्षेत्रमा विद्युत् क्षमता विस्तार, वितरण सुदृढीकरण र दीर्घकालीन ऊर्जा आपूर्तिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।











