काठमाडाैँ । साझा पावर कम्पनी लिमिटेडले २२.५ मेगावाटकाे तल्लो बलेफी जलविद्युत आयोजना २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र गतिमा अघि बढाएको जनाएको छ । कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आयोजनासँग सम्बन्धित महत्त्वपूर्ण वित्तीय तथा संरचनागत निर्णयहरू पारित गर्दै परियोजना समयमै सम्पन्न गर्ने आधार तयार गरेको छ ।
होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा सम्पन्न सभाले तल्लो बलेफी आयोजनाका लागि कुल ३०५.९८ करोड रुपैयाँ बराबरको अल्पकालीन तथा दीर्घकालीन ऋण अनुमोदन गरेको छ । साथै, आयोजनाको निर्माणसँग प्रत्यक्ष जोडिएका विस्फोटक पदार्थ, सिभिल, टनेल तथा इलेक्ट्रो–मेकानिकलसम्बन्धी सम्झौताहरू पनि सभाबाट स्वीकृत भएका छन् ।

सभाले आयोजना कार्यान्वयनलाई सहज बनाउने उद्देश्यले कम्पनीको नाममा आवश्यक चल तथा अचल सम्पत्ति खरिद–बिक्री गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ । त्यसैगरी, शेयर खरिद–बिक्री वा अन्य कार्यका लागि विद्युत नियमन आयोग लगायत सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने अवस्थामा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आषाढ ३२, २०८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित भएको छ ।

सञ्चालक समितिका अध्यक्ष कुवेरमणी नेपालले तल्लो बलेफी जलविद्युत आयोजना समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै शेयरधनी, सञ्चालक समिति सदस्य तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरे ।
कम्पनीका अनुसार आयोजनामा रिडी पावर कम्पनीको ५५ प्रतिशत लगानी रहेको छ । आवश्यक वित्तीय स्रोत, ठूला निर्माण सम्झौता र व्यवस्थापकीय निर्णयहरू साधारणसभाबाट अनुमोदन भएसँगै तल्लो बलेफी जलविद्युत आयोजना निर्धारित २४ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।








