काठमाडौँ । बागमती प्रदेशका दोलखा र रामेछाप जिल्लामा निर्माण हुने खिम्ती–घ्वाङ्ग खोला जलविद्युत् आयोजनाको इलेक्ट्रो–मेकानिकल (ईएम) कार्य इन्डियन कम्पनी गेपर्ट हाइड्रोले गर्ने भएको छ । वन्डर्स इनर्जी प्रालिले गर्जाङ क्षेत्रमा निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको यस आयोजनाको ईएम उपकरणको डिजाइन, उत्पादन, आपूर्ति तथा जडान कार्यको ठेक्का गेपर्टले प्राप्त गरेको हो ।
आयोजनाका लागि आवश्यक सम्पूर्ण इलेक्ट्रो–मेकानिकल उपकरणको जिम्मेवारीसहित प्रवर्द्धक कम्पनीसँग ठेक्का सम्झौता सम्पन्न भएको गेपर्टका देशीय निर्देशक राजकिशोर यादवले जानकारी दिए । उनका अनुसार खिम्ती–घ्वाङ्ग खोला आयोजनासँगै यही समूहद्वारा निर्माणाधीन फेदी खोला जलविद्युत् आयोजनाको पनि इलेक्ट्रो–मेकानिकल कार्य गेपर्टले नै गरिरहेको छ ।
हालसम्म गेपर्टले नेपालमा १९ वटा जलविद्युत् आयोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का लिइसकेको छ । तीमध्ये ९ वटा आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी १० वटा आयोजना विभिन्न चरणमा निर्माणाधीन रहेका छन् । विश्वका ४० भन्दा बढी देशमा जलविद्युत् उपकरण उत्पादन, आपूर्ति तथा जडानमा काम गरिसकेको गेपर्टसँग यस क्षेत्रमा लामो अनुभव रहेको छ ।
अध्ययनअनुसार आयोजना सम्पन्न भएपछि वार्षिक ५०.०७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको गर्जाङ सबस्टेसनमा जोडिनेछ ।











