Friday, July 17, 2026
spot_img

१४० मेगावाट तनहुँ जलविद्युत् आयोजनामा क्षतिपूर्ति निर्धारण

spot_img

Share

spot_img

काठमाडाैँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारका लागि मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजना निर्माणका क्रममा लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन गरी मुआब्जा तोकेको आयोजनाले जनाएको छ ।

यस्तै, समितिले स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोढेमा दमौली–भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माण गर्दा क्षति पुगेका सुन्तलाका बोटका लागि पनि क्षतिपूर्ति निर्धारण गरेको छ । साथै, जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी जग्गा प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयमा समेत छलफल भएको थियो ।

बैठकमा मन्त्रिपरिषद्को निर्णयअनुसार आयोजनाको जलाशय तथा बफर जोन सीमाभित्र लामो समयदेखि खेती, उपयोग तथा बसोबास गर्दै आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन तथा सर्वेक्षण गर्ने जिम्मेवारी मुआब्जा निर्धारण समितिलाई दिइएको विषयमा पनि छलफल गरिएको छ ।

आयोजनाअन्तर्गत प्याकेज–१ मा बाँधसहितका संरचना (हेडवर्क्स), प्याकेज–२ मा मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।

आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसहित) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। यसमध्ये एशियाली विकास बैंक (एडिबी)ले १५ करोड डलर, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख डलर, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख डलर र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img