काठमाडौँ । सरकारले रामेछाप र दोलखाको सिमामा १२१६ मेगावाटको खिम्ती–ठोसे–शिवालय जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ । लगानी बोर्ड नेपालले उक्त आयोजना आगामी बैंशाख १६ र १७ गते हुने लगानी सम्मेलनको सोकेसमा राख्ने भएको हो ।
प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको आयोजना लगानी सम्मेलनमा समावेश गर्न लागिएको सबैभन्दा ठूलो आयोजना रहेको आयोजना इन्जिनियर राजेश श्रेष्ठले बताए । अरुण ३ मोडालिटीमा बंगलादेशका लगानीकर्ताको चासो रहेको उक्त आयोजनामा सम्भवतः बंगलादेशकै लगानीमा निर्माण अगाडि बढ्ने अपेक्षा गरिएको छ । लगानी बोर्डका अनुसार उक्त आयोजना बंगलादेशले बनाउने र विद्युत पनि लैजाने गरी लगानी गर्न खोजेका छन् ।
२ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सुरु भएको ७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनालाई १ हजार ७०० मेगावाटसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको भएता अझै टुंगो भने लागेको छ । विद्युत् विकास विभागले यसको अध्ययन गरिरहेको छ । ‘आयोजनाको अध्ययनको काम द्रुत गतिमा चलिरहेको छ’ उनले भने ।
यो आयोजना दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माण हुनेछ । ठोसे–शिवालय– खिम्ती नदीमा बाँध बनाएर विद्युत् उत्पादन गर्न सकिने अनुमान छ । बाँधको उचाइ २३१ मिटर हुनेछ । शिवालयमा बाँध बनाएर करिब १४ किमी सुरुङमार्ग निर्माण गरेर विद्युत उत्पादन गरिनेछ ।
बंगलादेशमा विद्युत् निर्यात
बंगलादेशले आगामी जेठदेखि ४० मेगावाट विद्युत् लैजाने गरी सम्झौता गरिसकेको छ । नेपालले प्रतियुनिट ९ रुपैयाँ हाराहारीमा बिजुली बिक्री गर्ने सहमति गरेको छ । बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री हुनेछ । भारतले आफ्नो प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गर्न अनुमति दिएसँगै बंगलादेशसँग पनि सम्झौता भइसकेको छ । बंगलादेशले नेपालसहित छिमेकी मुलुकहरूबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने घोषणा गरेको छ ।