काठमाडाैँ । नुवाकोट र धादिङ क्षेत्रमा विद्युत् आपूर्ति प्रणाली सुदृढ बनाउने उद्देश्यसहित निर्माण हुन लागेको त्रिशूली–३ बी रातमाटे–गल्छी २२० केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा अधिग्रहणको औपचारिक प्रक्रिया अघि बढाइएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा अघि बढिरहेको उक्त आयोजनाअन्तर्गत प्रसारण लाइनका टावर स्थापना गर्न आवश्यक जग्गा स्थायी रूपमा प्राप्त गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । प्रशासनले माघ २४ गते सूचना सार्वजनिक गर्दै सम्बन्धित कानुनी प्रावधानअनुसार प्रक्रिया सुरु गरिएको स्पष्ट पारेको हो ।
प्रकाशित सूचनामा जग्गा प्राप्ति ऐन, २०३४ का दफा ९, १० र ११ अनुसार प्रभावित क्षेत्रका जग्गाधनी तथा सरोकारवालालाई आफ्नो हकदाबी प्रस्तुत गर्न आह्वान गरिएको छ । सूचनामा उल्लेख भएअनुसार सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र निवेदन दिनुपर्नेछ ।
निवेदन पेश गर्दा जग्गाको स्वामित्व वा भोगचलन पुष्टि हुने कागजात संलग्न गर्नुपर्नेछ भने निवेदनमा रु १० बराबरको टिकट टाँस्नुपर्ने व्यवस्था गरिएको छ । तोकिएको समयसीमाभित्र निवेदन नपरेमा कानुनअनुसार थप प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ ।
प्रशासनले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न स्थानीय समुदाय तथा सम्बन्धित निकायको सहयोग अपरिहार्य रहेको उल्लेख गरेको छ । साथै आयोजनासम्बन्धी थप विवरणका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।








