काठमाडौँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनामा विद्युतगृह (पावरहाउस) क्षेत्र स्थानान्तरण हुने भएको छ । संरचनागत परिवर्तनसँगै आयोजनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवालासँग राय–सुझाव आह्वान गरिएको हो ।
आयोजनाका प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले प्रारम्भिक स्वीकृत डिजाइनपछि विद्युत्गृहको स्थान परिवर्तन गर्नुका साथै पहुँच सडकको लम्बाइ घटाउने, वेलीब्रिज थप गर्ने र केही संरचनाको आकार–प्रकार परिमार्जन गर्ने निर्णय गरेको जनाएको छ । विभागीय निर्देशनअनुसार तीन वटा अतिरिक्त वेलीब्रिज प्रस्ताव गरिएको उल्लेख छ ।
प्राविधिक मूल्याङ्कनका आधारमा भू–प्राविधिक अवस्था, बाढी तथा पहिरो जोखिम, निर्माण पहुँचको सहजता र दीर्घकालीन सञ्चालन सुरक्षालाई ध्यानमा राख्दै विद्युतगृह क्षेत्र स्थानान्तरण गरिएको जनाइएको छ । नयाँ स्थानले निर्माण व्यवस्थापनलाई छिटो र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
आयोजनाको संरचना परिवर्तन गर्दा रसुवा जिल्लाका आमाछोदिङमो गाउँपालिका–१ र २, गोसाईकुण्ड गाउँपालिका–६, उत्तरगया गाउँपालिका– १, कालिका गाउँपालिका–१ लाई प्रत्यक्ष प्रभावित पार्ने बताइएको छ ।
पूर्व स्वीकृत प्रतिवेदन अनुसार आयोजनाका लागि ७९.२६ हेक्टर वन क्षेत्र (७६.६६ हेक्टर राष्ट्रिय वन र २.६१ हेक्टर मध्यवर्ती क्षेत्र) भोगाधिकारमा लिइसकेको छ । हालको परिमार्जन वन क्षेत्रको स्वीकृत दायराभित्रै रहेको दाबी गरिएको छ ।
कम्पनीले वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम प्रतिवेदन सार्वजनिक गरेको छ । सूचना प्रकाशित मितिबाट सात दिनभित्र सर्वसाधारण, सरोकारवाला निकाय वा संस्थाले लिखित राय–सुझाव पेश गर्न सक्नेछन् । प्राप्त सुझावलाई अन्तिम प्रतिवेदनमा समावेश गरिने जनाइएको छ । रणनीतिक महत्व बोकेको यस आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रणालीमा जोडिँदा देशको ऊर्जा आपूर्ति सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवर्द्धक कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी (इक्विटी) रहेको छ ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपूँजीबाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ ।
काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ ।








