काठमाडाैँ । गुल्मी जिल्लाको विद्युत सेवा दीर्घकालीन रूपमा भरपर्दो, स्थिर र गुणस्तरीय बनाउने लक्ष्यसहित १३२ केभीका दुई महत्वपूर्ण सबस्टेशन सञ्चालनमा आएका छन् । जिल्लाको उनाएचौर र पौदीअमराईमा निर्माण सम्पन्न भई सञ्चालनमा आएका यी सबस्टेशनलाई गुल्मीको ऊर्जा पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।
यसअघि बुटवलस्थित १३२ केभी प्रसारण लाइनबाट पाल्पा हुँदै गुल्मीमा विद्युत सेवा वितरण हुँदै आएको थियो । पुरानो तथा सीमित क्षमताको संरचनाका कारण जिल्लामा बारम्बार लाइन ट्रिपिङ, भोल्टेज घटबढ तथा अनियमित आपूर्तिको समस्या देखिँदै आएको थियो ।
अब भने कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँची हुँदै उनाएचौर र पौदीअमराईमार्फत बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन विस्तार गरिएसँगै विद्युत आपूर्ति थप व्यवस्थित र सुदृढ बनेको छ । दुई स्थानमा उच्च क्षमताका सबस्टेशन सञ्चालनमा आएसँगै वैकल्पिक आपूर्ति मार्गसमेत सुनिश्चित भएको छ, जसले प्रणालीको विश्वसनीयता बढाएको छ ।
नयाँ पूर्वाधारले घरेलु उपभोक्तामात्र होइन, औद्योगिक तथा व्यावसायिक विस्तारका सम्भावनालाई समेत बलियो आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । जिल्लामा बढ्दो विद्युत मागलाई सम्बोधन गर्न वितरण लाइन स्तरोन्नति, ट्रान्सफर्मर क्षमतावृद्धि तथा सेवा विस्तारलाई आगामी चरणमा प्राथमिकता दिइने तयारी छ ।
तम्घास–बुर्तिबाङ १३२ केभी सबस्टेशनको हालै निरीक्षण तथा शुभारम्भ गरिएको छ, जसले गुल्मीको ऊर्जा पूर्वाधार सुदृढीकरणमा थप गति दिएको छ ।











