नेपाल सरकारले निर्धारण गरेको लक्ष्यलाई पूरा गर्न, आन्तरिक खपत वृद्धि गर्न तथा ऊर्जा क्षेत्रमा आएको नयाँ प्रविधिको प्रर्दशनी गर्न आगामी बैशाख १२ गतेदेखि १४ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिसँगको सहकार्यमा एक्स्पो आयोजना गर्न लागेको हो । विद्युत् आयोजना निर्माण गर्न अध्ययनकर्ता, इन्जिनियर, डिजाइनर, प्राविधिक, आपूर्तिकर्ता, उपकरण उत्पादक, लगानीकर्ता, बैंक, वित्तीय संस्था, प्रवर्द्धक लगायत सबैलाई एकैठाउँमा ल्याएर सहकार्य गर्न सक्ने वातावरण निर्माण गर्न यो एक्स्पो आयोजना गर्न लागिएको छ । यही एक्स्पोको विषयबारे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीसँग गरिएको कुराकानीको सक्षेपः
हिमालयन हाइड्रो एक्स्पोकोे तयारी कस्तो भइरहेको छ । यसमा मन्त्रालयको सहयोग कस्तो रहन्छ ?
सरकारले सन् २०३५ सम्ममा साढे २८ हजार मेगावाट विद्युत उत्पादनको ‘रोडम्याप’ बनाउँदै गर्दा इपानले ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्न लागेको भन्ने जानकारी आएको छ । यो हाइड्रो एक्स्पोले मुख्य गरी ऊर्जा क्षेत्रको विकासमा लगानी बढाउन नै टेवा पुग्ने भएको हुँदा मन्त्रालयले अभिभावकको रूपमा इप्पानसँग सहजिकरण गरेर सहयोग पुर्याउनेछ ।
इप्पानले हिमालयन हाइड्रो एक्स्पोको तयारी व्यापक गरिरहेको छ । स्टल बुकिङ गर्ने, प्रचारप्रसार गर्ने, प्राविधिक सत्र लगायतको तयारीको काम अन्तिम चरणमा पुर्याएको छ । निजी क्षेत्रले जलविद्युत् उत्पादनमा प्रवेश पाएसँगै देशको ऊर्जा क्षेत्रको विकासमा सरकार सँगसँगै मिलेर सक्रिय ढंगले काम गरिरहेको छ । विद्युत उत्पादनमा सक्रिय बन्दै गएको निजी क्षेत्रकाे जडित क्षमता सरकारको भन्दा दोब्बर पुगिसकेको छ । निजी क्षेत्रले जलविद्युत् र सौर्य उत्पादनमा लगानी बढाउँदै लगेको छ ।
अहिले राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध विद्युतको ६० प्रतिशत बढी निजी क्षेत्रले नै योगदान गरिरहेको छ भने सरकारको स्वामित्वको नेपाल विद्युत प्राधिकरण अन्तर्गत सञ्चालित विद्युत आयोजनाको योगदान ४० प्रतिशत मात्रै छ । यसकारण पनि नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।
एक्स्पोमा मन्त्रालयकोतर्फबाट कस्तो सहभागिता रहनेछ ?
एक्स्पोको औपचारिक उद्घाटनको दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत लगायत मन्त्रालयका अन्य पदाधिकारीको सहभागिता हुन्छ । साथै, एक्स्पोमा प्रदर्शनका लागि राखिएका स्टलहरूको अवलोकन गर्छौ । साथै, मन्त्रालयका तर्फबाट हुने आवश्यक सहयोग तथा समन्वय गर्छौ ।
एक्स्पोले ऊर्जा क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि कस्तो भूमिका निर्वाह गर्छ । सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्न एक्स्पोले कस्तो सहयोग पुर्याउँछ ?
एक्स्पो भनेको ऊर्जासँग सम्बन्धित सबै पक्षको एउटै छानामुनी भेटघाट तथा जमघट गर्न आयोजना गर्न लागिएको छ । ऊर्जा क्षेत्रमा आएका नयाँ प्रविधिको बारेमा जानकारी दिन, समस्या पहिचान गरी समाधान गर्न, नीति नियमलाई समयानुकुल बनाउन, नयाँ नयाँ योजनामा छलफल गर्ने उत्कृष्ट गन्तव्य भनेको हाइड्रो एक्स्पो नै हो ।
इप्पानले हरेक २ वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पोले जलविद्युत उत्पादक, परामर्शदाता, बैंक तथा वित्तीय संस्था, ठेकेदार, निर्माण कम्पनीहरू, हाइड्रो एवं इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा जडानकर्ता लगायत सबै एकै स्थानमा भेला भई सम्बन्धित सबैसँग सम्पर्क स्थापित गरेर आफ्ना आयोजनाको काम अगाडि बढाउन सहयोग पुग्छ । साथै, एक्स्पो अवधिमा आयोजना हुने प्राविधिक सत्रबाट पनि ऊर्जा उत्पादनको अवस्था, आवश्यक लगानी जस्ता विषयमा बुझ्ने तथा बुझाउने अवसर प्राप्त हुन्छ । देशको ऊर्जा क्षेत्रमा लगानीको दायरा बढाउन सहयोग पुग्नेछ ।
लगानी सम्मेलन हुँदै छ । सम्मेलनको सोकेसमा ठूलो क्षमताका विद्युत् आयोजना गरिँदै छ । एक्स्पोले लगानी सम्मेलनलाई कस्तो तरिकाले फाइदा पुर्याउँछ ?
सरकारले ठूलो विद्युत् आयोजना तथा पूर्वाधार विकासका लागि लगानी प्रवद्र्धन गर्ने उद्देश्यले तेस्रो लगानी सम्मेलन आयोजना गर्दै छ । ऊर्जा क्षेत्रको विकासका लागि अहिलेको प्रमुख आवश्यकता भनेको लगानी नै हो । सम्मेलन एक्स्पो लगत्तै हुन लागेकोले पनि सम्मेलनलाई सफल बनाउन यसको महत्वपूर्णं भूमिका रहन्छ । लगानीकर्ताहरू एक्स्पोमा आएर ऊर्जा क्षेत्रको सम्पूर्ण जानकारी दिएर सकारात्मक सोचका साथ सम्मेलनमा जान सक्छन् । एक्स्पो कै कारण थप बढी लगानीको प्रतिबद्धता आउने विश्वास छ ।
एक्स्पो आयोजना गर्दा मुख्य गरी कुन पक्षमा ध्यान पुर्याउन आवश्यक देख्नुहुन्छ ?
ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । निजी क्षेत्रको सफलता नै सरकारको पनि सफलता हुने हुँदा एक्स्पोको सफल आयोजनाका लागि बढीभन्दा बढी सरोकारवालालाई सहभागी गराउनु पर्ने हुन्छ । इप्पानले सबै पक्षको उल्लेख्य सहभागिताका लागि गृहकार्य गरिरहेको नै छ भन्ने लाग्छ । ऊर्जा क्षेत्रको विकासका लागि वैदेशिक तथा आन्तरिक लगानी महत्त्वपूर्ण हुन्छ ।