Friday, March 28, 2025
spot_img

निजी क्षेत्रबाट हाइड्रोजनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमि, तादी खोलाको विद्युतबाट हाइड्रोजन उत्पादन हुँदै

spot_img

Share

spot_img

काठमाडौँ । नुवाकोटमा सञ्चालनमा रहेको तादी खोला जलविद्युत् केन्द्रको ५ मेगावाट बिजुली उपयोग गरी हाइड्रोजन उत्पादन गरिने भएको छ । बुद्धभूमी हाइड्रो पावर कम्पनीले सञ्चालन गरिरहको केन्द्रको बिजुली प्रयोग गरी हाइड्रोजन उत्पादन गर्न कम्पनी र काठमाडौँ विश्वविद्यालय (केयू) बीच शुक्रबार (चैत ७ गते) सम्झौता भएको छ ।

सम्झौतामा केयूकातर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, ग्रीन हाइड्रोजन ल्यावका प्रमुख डा.विराजसिंह थापा र एकेडेमिया इन्डष्ट्रिका संयोजक डा.राम लामा तथा कम्पनीकातर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ, कार्यकारी निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत (सीइओ) शेखरकुमार सुवेदीले हस्ताक्षर गरे ।

नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाउने भएको छ । यसअघि काठमाडौँ विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्ड भित्रै हाइड्रोजन ल्याब स्थापना गरी हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर निजी क्षेत्रबाट भने यसअघि हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् ।

बर्खामा बढी भइ खेर गएको विद्युत् उपयोग गरी हाइड्रोजन उत्पादन गर्न बुद्धभूमिसँग सम्झौता गरेको केयूका सहप्राध्यापक एवं ग्रीन हाइड्रोजन ल्याब प्रमुख थापाले बताए । ‘अहिले नेपालको विद्युत् आपुर्तिको अवस्था विश्वसनीय छैन पुरै ध्वस्त छ । नेपालमा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना बढी भएकोले बर्खामा विद्युत् बढी भई खेर जाने र हिउँदमा विद्युत् नपुग्ने अवस्था छ, यसलाई सन्तुलन गर्नका लागि हाइड्रोजन उत्पादन गरेर भण्डारण गर्ने उद्देश्यका साथ यो आयोजना अघि बढाइएको हो’ उनले ऊर्जा संचारसँग भने ।

‘पछिल्लो समय हाइड्रोजनमा एक प्रकारको उत्साह आएको छ । जलविद्युत् प्रवर्द्धकहरूले चासो देखाइरहेका छन्’ उनले भने ‘अहिले ५ मेगावाट क्षमताबाट कोसिस गरेका छौ, भविष्यमा ५०० मेगावाटसम्म जान सक्छौ, यसका लागि हामी प्राविधिक पक्षको काम गर्छौ, लगानीकर्ताले लगानी गर्नुपर्छ, सरकारले सहज, सरल, गुणस्तीय नीति ल्याउनुपर्छ ।’ जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रीन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढङ्गले सुरक्षितरूपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याउने गरी उत्पादन गरिने बताए ।

बुद्धभूमीले तादीको विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गर्नेगरी केयूसँग मिलेर अध्ययन प्रक्रिया अघि बढाउन सम्झौता भएको बुद्धभूमी हाइड्रो पावर कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताए ।

‘वर्षामा विद्युत उत्पादन बढी हुने तर खपत नबढ्दा हरेक वर्ष निजी ऊर्जा उत्पादकहरूको विद्युत खेर गइरहेको छ’ खतिवडाले भने, ‘यसरी खेर जाने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरेर हिउँदको समयमा प्रयोग गर्न सकिए धेरै विद्युत आयोजनाको वर्षाको समस्या समाधान हुन्छ ।’

दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्राविधिकले तीन महिनामा सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमता अनुसार उत्पादन सुरु गर्ने बताइएको छ ।

कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रीन हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताए । उनले पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र बिजुलीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने र त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजना रहेको पनि बताए । उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गर्ने योजना बनाइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img