Sunday, May 19, 2024
spot_img

‘नेपाल हाइड्रोजनको हब हुन सक्छ’

spot_img

Share

spot_img

काठमाडौँ । नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा बुधबारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा बोल्ने वक्ताहरूले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिएका हुन् ।

ऊर्जा सुरुक्षाको लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उनीहरूको भनाइ छ । सत्रमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक एवं हाइड्रोजन ल्याव प्रमुख विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मुल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसको लागि नेपाल आजैबाट तयार हुनेपर्ने बताए । ‘सन् २०५० सम्म १३ ट्रिलिएन डलरको बजार हुँदैछ । यसमा नेपालको स्थान अन्य देशले बढी देखेको छ ।’ हाइड्रोजनको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने,‘नेपाल सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्ने मुलकमा पर्ने देखिएको बेलायतको एक अध्ययनले देखाएको छ ।

सोलार, विण्ड र हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिन्छ । काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट गाडी चलाएर देखाएको र चुल्हो बालेर देखाएको सांकेतिक रहेको र अब सरकार र अन्य निजी क्षेत्र यसमा आउनुपर्ने थापाले बताए । ‘अब सरकार र अन्य क्षेत्रले यसमा लगानी गर्नुपर्छ । एमोनिया भविष्यको ऊर्जा भएर आउँदैछ । यसमा १ ट्रिलिएन डलरको बजार हुँदैछ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा यसको अनुसन्धान हुँदैछ’ उनले भने । नेपालको भविष्य मल कारखानामा पनि उच्च रहेको थापाले बताए ।

वर्षायाममा जलविद्युत् धेरै उत्पादन हुने र हिउँदमा कम उत्पादन हुने भेरियसनलाई हाइड्रोजन बनाएर प्रशोधन गरी हिउँदमा त्यसको बिक्री गर्न सकिने हुँदा हाइड्रोजन नेपालको ऊर्जा सुरक्षाको लागि राम्रो विकल्प रहेको उनको भनाइ छ । काठमाडौं विश्वविद्यालयले बुद्धभूमि हाइड्रो पावरसँग हाइड्रोजन उत्पादनमा सहकार्य गरेको पनि उनले बताए ।

सरकारले हाइड्रोजन नीति बनाएपनि ऐन, नियम, कार्यविधि बनाउँन आवश्यक रहेको उनले बताए । कार्यविधि बनाए सन् २०३० देखि २०४० सम्म नेपालको हाइड्रोजन विश्व बजारमा जान सक्ने उनको भनाइ छ । सरकारले कार्यविधि बनाए यसमा निजी क्षेत्रले लगानी गर्ने उनले आफ्नो प्रस्तुतीमा राखे । ‘नेपाल हाइड्रोजनको हब हुन सक्छ । यसको उत्पादन प्रसारण गर्न सक्छ ।

बर्खामा खेर भएकाे विद्युतबाट हाइड्राेजन उत्पादन गरेर भण्डारण गर्न सकिन्छ । खेर जाने बिजुलीबाट हाइड्राेजन उत्पादन गर्दा त्याे सस्ताे पनि हुन्छ । काेइलाकाे प्रयाेग गरे उत्पादन हुने सिमेन्ट, स्टिल हाइड्राेजनबाट उत्पादन गर्न सकिन्छ, हाइड्राेजनबाट एमाेनिया, युरिया लगायत अन्य धेरै उत्पादन गर्न सकिन्छ । यिनीहरू हाइड्राेजन हबमा अटाउछन्’ उनले भने । भण्डारण गरेकाे हाइड्राेजन फेरि हिँउदमा प्रयाेग गर्न सकिन्छ । एमाेनियालाइ अन्य देशमा पनि निर्यात गर्न सकिन्छ ।

हाल १५० बिलियनको हाइड्रोजन बजार बनेको र यसको लागि सरकारले छिटोभन्दा छिटो यसको लागि चाहिने ऐन र कार्यविधि बनाउनु पर्छ’ उनले भने । सन् २०४५ सम्म सरकारले कार्बन उत्र्सजन शून्य गर्ने भनेको छ । यसलाई कसरी प्राप्त गर्ने भन्नेमा कार्ययोजना बनाउनुपर्ने बताए ।

यस्तै सोही सत्रमा ‘सोलार पोटेन्सियल एण्ड इम्प्लिमेन्टिएसन अन मिक्स इनर्जी’ मा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै इप्पान सदस्य कुबेरमणि नेपालले नेपालमा हालसम्म परम्परागत ऊर्जा ६० प्रतिशत रहेको र ऊर्जा खपतको ६० प्रतिशत हाम्रो घरायासी काममा प्रयोग भएको भन्दै यसालाई विस्थापनको राम्रो विकल्प सोलार रहेको बताए ।

नेपालमा सोलार उत्पादनको लागि निकै राम्रो अवस्था रहेको र वर्षमा ३ सय दिन सोलार उत्पादन गर्न सकिने उनले बताए । सरकारले २०७२ मा जलविद्युत्, सोलार र विण्ड गरी १० हजार मेगावाट उत्पादनको लक्ष्य राखेकामा ९ वर्षमा जम्मा १०४ मेगावाट सोलार उत्पादन भएको उनले बताए । सरकार सोलार उत्पादनमा जुन रुपमा जानुपर्ने हो त्यसमा नगएको पनि उनले बताए । यस्तै सोलारको लागि सरकारले छुट्टै नीति ल्याउनुपर्नेमापनि उनले जोड दिए । ‘सोलारको आयोजना बनाउन सोलरको लागि छुट्टै नीति छैन’, उनले भने, ‘ हालको विद्युत् विधेयकमा सोलारको विषयमा निकै कम बोलेका छ । यसको लागि छुट्टै मन्त्रालयको व्यवस्था हुनुपर्छ ।’

यस्तै वैकल्पिक ऊर्जा प्रर्वद्धक कुशल गुरुङले अर्गानिक फोहोरलाई नमूना परीक्षणको रुपमा पोखरामा परीक्षण गरिरहेका बताए ।नेपालमा करिब ६० प्रतिशत कुहिने फोहोर निस्किने गरेको र त्यसको २० प्रतिशत मात्रै प्रयोग गरे पनि २५ लाख टन अर्गानिक मल उत्पादन गर्न सकिने गुरुङले बताए । मुस्ताङमा १ मेगावाटको बिलेट लान सकिए १२ सय सोलार ९ सय विण्ड गरी २१ सय मेगावाट ऊर्जा उत्पादनको सम्भावना अध्ययनले देखाएको उनले जानकारी दिए । हाइड्रोजन उत्पादनको लागि ग्रीडको बिजुली छुट्टाउने हो भने यसमा सोलार र विण्डको प्रयोग गर्न सकिने उनको भनाइ छ । सबैभन्दा सस्तो सोलार भनिरहँदा यसलाई किन १० प्रतिशतमा खुम्चाएकोमा गुरुङले प्रश्न गरे ।

सिम्पल इनर्जीका प्रमुख कार्यकारी निर्देशक अपार न्यौपाने उद्योगहरुको ठूला छाना त्यसै बसेको र त्यसमा सोलार राखेर प्रयोग गर्दा त्यसबाट उद्योगमा स्वच्छ ऊर्जा प्राप्त हुने बताए । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रका उप निर्देशक डा. लक्ष्मण घिमिरेले नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन पुगेको ठाउँमा केन्द्रले ऊर्जा मिश्रणको काम सुरु गरेको बताए । यस्तै उद्योगले सोलार राखेमा ५ लाखसम्म सहुलियत दिने गरेको जानकारी दिए । यस्तै विभिन्न माध्यमको प्रयोग गरी १० लाख घरधुरीमा विद्युतीकरण गरेको घिमिरेले बताए । दाउराको विस्थापनको लागि वायोग्यासलाई प्रयोगको लागि केन्द्रले प्राथमिकतामा राखेको पनि उनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सीडीई लक्ष्मी झाले हाल नेपालको ऊर्जा जडित क्षमता ३ गिगावाट (३ हजार मेगावाट) पुगेको, विद्युत् चुहावाट घट्ने क्रममा रहेको र मन्त्रालयले तय गरेको १३ वटा सूचकको प्रगति राम्रो भएको बताइन् । सरकारको नीतिले गर्दा वैकल्पिक ऊर्जाको विकास विस्तारै हुँदै गएको झाले बताइन् । ग्रीन हाइड्रोजनको नीति बनेको र यसको ऐनहरु बन्ने क्रममा रहेको उनले जानकारी दिइन् ।

एकद्धार प्रणाली भन्दा पनि एक डेस्क टेबल हुनुपर्ने इप्पानको भनाइ रहेको र हाल लगानी बोर्डले विदेशी र ठूला लगनीकर्तालाई मात्रै समेटेको हुँदा यसको लागि सरकारले एक टेबल प्रणालीको व्यवस्था गर्नुपर्ने इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुँरागाईंले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img