Tuesday, August 11, 2026
spot_img

उत्तरी गोरखाका १५ हजार नागरिकलाई राहत: घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा

spot_img

Share

spot_img

काठमाडाैँ । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भई सञ्चालनमा आएको छ । लामो समयदेखि स्थानीय अवरोध तथा राइट अफ वे (Right of Way) सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली थप गुणस्तरीय, भरपर्दो र स्थिर हुने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा उक्त सबस्टेसन निर्माण गरिएको हो । यस आयोजनाअन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा र म्याग्दीलगायत विभिन्न जिल्लामा ३३/११ केभी सबस्टेसन, ३३ केभी प्रसारण लाइन, ११ केभी फिडर तथा ४०० भोल्टको एलटी वितरण लाइन निर्माण गर्ने कार्यक्रम रहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लामो समयदेखि स्थानीयस्तरमा देखिएको अवरोध हटाएर सबस्टेसन सञ्चालनमा ल्याउन सफल भएको बताउँदै अब उत्तरी गोरखाका छ वटा गाउँपालिकाका करिब १५ हजार नागरिकले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने जानकारी दिए ।

उनका अनुसार निर्माणाधीन १० मेगावाट क्षमताको बारपाक–दरौंदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् पनि यही सबस्टेसनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय विद्युत् प्रणालीमा जोडिनेछ, जसले क्षेत्रीय विद्युत् आपूर्तिलाई थप सुदृढ बनाउनेछ ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा आउनु उत्तरी गोरखाका बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले अब यस क्षेत्रका उपभोक्ताले लामो समयदेखिको भरपर्दो र गुणस्तरीय विद्युत् सेवाको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे । साथै, घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा आएसँगै गोरखा बजार सबस्टेसनमा पर्ने विद्युत् भार घट्ने र लाइन अवरुद्ध हुने समस्या पनि उल्लेखनीय रूपमा न्यून हुने बताए ।

घ्याम्पेसाल ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्तिमा नयाँ अध्याय सुरु भएको छ । यसले विद्युत् सेवाको विश्वसनीयता बढाउनुका साथै भविष्यमा उत्पादन हुने जलविद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नसमेत महत्वपूर्ण पूर्वाधारको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img