काठमाडाैँ । लुम्बिनी प्रदेशको नवलपरासी –बर्दघाट सुस्तापश्चिम) मा ४०० केभी क्षमताको बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता सम्पन्न भएको छ । एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा एमसीसी परियोजनाअन्तर्गत निर्माण हुने सबस्टेसनको ठेक्का लागेको हो ।
सबस्टेसन निर्माणको लागि लिङ्कसन इण्डिया प्रालिसँग एमसीए नेपालले बिहीबार ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थितिमा नवलपरासीमा आयोजित समारोहमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिङ्कसन इण्डियाका प्रतिनिधिले हस्ताक्षर गरे ।
यो सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो सबस्टेसनले सीमापार ऊर्जा व्यापारमा उल्लेख्य योगदान गर्ने तथा विद्यमान २२० केभी सबस्टेशनलाई सघाउने पनि उनले बताए ।
एमसीए–नेपालले यो परियोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माण गर्दै छ । बाँकी दुई सबस्टेसन नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा निर्माण हुँदैछन् । यी दुई सबस्टेसन निर्माणका लागि पनि प्राविधिक रुपमा योग्य ठेकेदारले पेश गरेको वित्तीय प्रस्ताव खोलिसकिएको छ । बाँकी दुई वटा सबस्टेसनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि अन्तिम तयारी भइरहेको जनाइएको छ ।
एमसीए–नेपालको सञ्चालक समितिको गत फागुनमा बसेको बैठकले सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउन न्यू बुटवल–गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमि अंशको निर्माणलाई तत्काल अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार सो खण्डको बोलपत्र आह्वान भइसकेको छ ।
एमसीए नेपालले यसअघि नै विद्युत् प्रसारण लाइनको टेन्डर खोलेको थियो । तर, कम्पनीहरूले गरेको प्रस्तावित मूल्य एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो टेन्डर प्रक्रियालाई गत २६ असोजमा सम्पूर्ण रुपमा रद्द गरिएको थियो ।
त्यसमध्ये बुटवल–गोरखपुर १८ किलोमिटर प्रसारण लाइनलाई प्राथमिकताका साथ निर्माण गर्ने निर्णय एमसीए– नेपालको बोर्डले गरेको छ । सोहीअनुसार एमसीएले २ चैतमा सो खण्ड निर्माणका लागि टेन्डर आह्वान गरेको थियो ।