Monday, May 25, 2026
spot_img

बाढीपहिरोले पाँचथरका ऊर्जा पूर्वाधार प्रभावित

spot_img

Share

spot_img

काठमाडाैँ । अविरल वर्षापछि आएको बाढीपहिरोले पाँचथरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर उच्च जोखिममा परेका छन् । सडक, पुल तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेपछि जनजीवन प्रभावित बनेको छ ।

पहिरोले याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको घर बगाएको छ । मोहनलाल र कबिरका सात जना आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने गंगाप्रसादको ६ जनाको परिवार उनका दाजुको घरमा सरेको छ ।

सोही क्षेत्रमा भगीमान बेघाको घर पहिरोको उच्च जोखिममा परेपछि उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

बाढीपहिरोका कारण कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल र खोलाघारी मगरडाँडाका दर्जनौँ घर जोखिममा परेका छन् । स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल तथा याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत दोभानेमा मेवा खोलामाथि निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको छ । पुलसँगै सडक र डाइभर्सनसमेत बगाएपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथर र ताप्लेजुङको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ । निर्माणाधीन पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन र फलामे पाइपलगायत सामग्री बगाएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, बाढीपहिरोले विभिन्न जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ । याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने पाँचथर–ताप्लेजुङ सीमास्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खालमा क्षति पुगेको छ । अरुण काबेली जलविद्युत् आयोजनामा समेत बाढीले असर पुर्‍याएको प्रहरीले जनाएको छ ।

याङवरक–४ सिगेवामा स्थानीयको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ । साथै, टीकारामे, डल्लेढुंगा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा समेत बाढीपहिरोले क्षति पुर्‍याएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img