काठमाठौँ । ऊर्जा तथा जलविद्युत् विकासमा लगानी बढाइरहेको एनएमबि बैंकले हालसम्म ५० बढी परियोजनामा लगानी गरिसकेको छ । बैंकले नवीकरणीय ऊर्जा क्षेत्रमा महत्वपूर्ण र दीर्घकालीन योगदान दिँदै आएको छ ।
विगत दशकौदेखि बैंकले सौर्य ऊर्जा, वायोग्यास, माइक्रो–हाइड्रो, स्वच्छ चुलो र विद्युतीय सवारीसाधनहरूमा कर्जा लगानी गरिरहेको छ । जसले नेपालको ऊर्जा प्रणालीलाई दिगो र आधुनिक बनाउन सहयोग पुर्याउने विश्वास बैंकको छ ।
बैंकले हालै मात्र तीन जलविद्युत् आयोजनामा प्रमुख अगुवाईको रुपमा लगानी गर्न सम्झौता सम्पन्न गरिरहेको छ । ४२ मेगावाटको लाप्चे तामाकोसी र २४.८ मेगावाटको बज्र मादी जलविद्युत् आयोजनामा अगुवाईको रुपमा लगानी गर्ने भएको छ । यसैगरी, २ मेगावाटको चेपे खोलामा बैंकले एकल लगानी गर्ने भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंकमा हाइड्रो पावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिँदै आगामी दिनमा थप लगानी बढाउँदै लैजाने योजना रहेको बताए । उनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न अन्तराष्ट्रिय वित्तीय संस्थाहरूको सहकार्यमा हरित ऋणपत्र जारी गर्ने तयारी गरिरहेको जानकारी दिए ।
बैंकले हरित ऊर्जा विकासमा लगानी गर्ने उद्देश्यअनुसार ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब १८ करोड रुपैयाँ) हरित ऋणपत्र (ग्रिन बण्ड) जारी गर्ने भएको छ । इन्टेरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी), ब्रिटीश इन्टरनेशनल इन्भेष्टमेन्ट (बिआइआई) र मेटा लाइफसँगको साझेदारीमा बण्ड जारी गर्न लागेको छ । उक्त बण्ड मुख्यतः सौर्य लगायत नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तगा बायोग्यासजस्ता आयोजनामा लगानी गर्ने बैंकको लक्ष्य छ ।








