काठमाडौँ । नेपाली सेना सौर्य आयोजना विकासमा प्रवेश गरेको छ । नेपालको अन्य प्रर्वाधारहरू जस्तैः सडक तथा पुल निर्माण गरिरहको नेपाली सेनाले सौर्य विद्युत् आयोजना निर्माण गर्न प्रक्रिया अघि बढाएको छ ।
नेपाली सेनाको सैनिक कल्याणकारी कोषले सौर्य आयोजनाको पहिचान समेत गरिसकेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा ३ वटा सौर्य आयोजना पहिचान गरी नेपाली सेनाले निर्माण प्रक्रिया अघि बढाएको छ ।
नेपाली सेनाले अहिले २३.५ मेगावाटका ३ सौर्य आयोजना अघि बढाएको विद्युत् विकास विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार नेपाली सेनाले यी आयोजनाको अध्ययन अनुमति लिइसकेका छन् ।
सर्भे लाईसेन्सको अवधि एक वर्षको रहेको छ । सर्भे लाईसेन्स पाएसँगै नेपाली सेनाले सर्भेको काम गरिरहेको छ ।
सेनाले यी आयोजनालाई अहिले सैनिक कल्याणकारी सैनामैना सौर्य विद्युत आयोजना ब्लक नाम दिएको छ । पहिलो ब्लक ५ मेगावाट, दोस्रो ब्लक १० मेगावाटको र तेस्रो ब्लक ८.५ मेगावाट प्रस्ताव गरिएको छ । पहिलो र दोस्रो ब्लकको सर्भे लाईसेन्सको अवधि २०८३ असार १४ गतेसम्म रहेको छ भने तेस्रो ब्लकको सर्भे लाईसेन्सको अवधि २०८३ असार १७ गतेसम्म रहेको छ ।
सरकारले ऊर्जा विकासमा ऊर्जा मिश्रणलाई प्राथमिकता दिइरहेसँगै सौर्य ऊर्जाको विकास द्रुत गतिमा अघि बढेको देखिन्छ । अझ, जलविद्युत् आयोजनाको तुलनामा कम लागत र छोटो समयमा नै आयोजना सम्पन्न हुने भएकोले पनि यस तर्फ सरकार तथा निजी क्षेत्रको आकर्षण बढ्दो छ ।








