काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको प्रबन्धक ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्डसँगकाे सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने भएकाे छ । साेलार फार्म लुम्बिनी (५० मेगावाट) र सोलार फार्म बुद्धभूमि (४० मेगावाट) मा लगानी हुनेछ ।
यसका लागि ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व किनेको छ। यो रणनीतिक लगानीले नेपालकाे वैकल्पिक ऊर्जा स्रोतको अपार सम्भावनालाई उपयोग गर्दै आन्तरिक विद्युत् माग पूरा गर्ने, आयातित इन्धनमा निर्भरता घटाउने र दीगो ऊर्जा भविष्यतर्फ अघि बढ्ने लक्ष्यमा केन्द्रित गर्नेछ ।
सोलार फार्म लिमिटेडले यसअघि नै तनहुँको चौतारास्थित ५ मेगावाटको सौर्य परियाेजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेकाे छ । सोलार फार्म लिमिटेडले दुईवटा सहायक कम्पनीहरू (SPVS) – सोलार फार्म लुम्बिनी (५० मेगावाट) र सोलार फार्म बुद्धभूमि (४० मेगावाट) मार्फत ९० मेगावाटको अन-ग्रिड सौर्य परियोजना विकास गर्न बोलपत्र जितेको छ ।
ग्लोबल इक्विटी फण्डले यसअघि २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जी.आई. सोलार र अफ-ग्रिड सौर्य कम्पनी घाम पावर लगायतका परियोजनामा लगानी गरिसकेकाे छ ।