जलवायु परिवर्तन विश्वले भोगिरहेको अहिलेको सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ । परम्परागत ऊर्जा उत्पादन प्रणालीले पृथ्वीको तापमानमा तीव्र वृद्धि गरिरहेको छ । यस्तो अवस्थामा दिगो प्रविधि र हरित ऊर्जा मात्र यस समस्याको समाधान हो ।
दिगो प्रविधि र हरित ऊर्जा अहिलेको युगको अनिवार्य आवश्यकता हो । दिगो प्रविधिले ऊर्जा उत्पादन र खपतलाई वातावरणमैत्री, आर्थिक रूपमा सन्तुलित र प्रभावकारी बनाउँछ । हरित ऊर्जा आन्दोलनको केन्द्रविन्दु विश्वको ऊर्जा ग्रिडको रूपान्तरण हो । जीवाश्म ईन्धनहरूबाट टाढिँदै सौर्य ऊर्जा, वायु ऊर्जा, र जलविद्युत प्रणालीहरू जस्ता नवीकरणीय स्रोतहरूमा उपयोग आजको आवश्यकता हो ।हरित ऊर्जा प्रविधिहरूले उर्जा उत्पादनसँगै उन्नत ब्याट्री प्रणालीहरूः ऊर्जा भण्डारण पनि समेट्छ ।
समाज हरियाली भविष्यतर्फ अग्रसर हुँदा हरित ऊर्जा प्रविधिहरूलाई समर्थन गर्न र अपनाउन आवश्यक छ । यसका लागि रिविन्सोल इनर्जी जिएमबीएचले युरोपमा विकास भइरहेको नवीन प्रविधि र विचार (आइडिया) लाई नेपालमा भित्र्याउने तयारी गरिरहेको छ । कम्पनीले फोटोभोल्टिक, वायु ऊर्जा, जलविद्युत् र हाइड्रोजन प्रविधिहरूको लागि परामर्श सेवा र परियोजना विकास गर्ने काम गर्दछ ।
लामो समयदेखि युरोपको जमर्नीमा हरित ऊर्जा विकास सम्बन्धी अध्ययन, अनुसन्धान र काम गरिरहेका दम्पती प्रो.डा.राजेश सैजु र मन्दिरा सैजुले यो कम्पनी स्थापना गरेका थिए । उनीहरूले जर्मनीमा सिकेका, बुझेका पक्षलाई नेपाल भित्र्याउन र कार्यन्वयन गर्न खोजेको बताएका छन् । जलविद्युत्सँगै सौर्य ऊर्जा, वायु ऊर्जा तथा हाइड्रोजन प्रविधिहरूको विकासमा योगदान पुर्याउने यो कम्पनीको उद्देश्य हो ।
यसै विषयमा काठमाडौँमा एक कार्यक्रम आयोजना गरी दम्पतीले नेपालमा नवीकरणीय ऊर्जा र पूर्वाधार विकासमा अन्तराष्ट्रिया विचार र नवीन प्रविधिको उपयोग गरी अघि बढ्नुपर्ने बताए । पछिल्लो समय विद्युत् उत्पादन बढ्दै जादाँ यसको खपत, निर्यात र भण्डारणको पक्षमा बहसहरू भइरहेको छ ।
यसका लागि उपयुक्त हाइड्रोजन हुने प्रो.डा.राजेश सैजुले बताए । ‘अब, नेपाल विस्तारै भण्डारण प्रविधिमा जानुपर्छ । हाइड्रोजन प्रविधिलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ’ उनले भने । जर्मनीमा विकास भएको प्रविधि ल्याउँदा सुरुमा केही महंगो परेपनि २५ वर्षको हिसाब गर्दा धेरै राम्रो हुने उनले बताए ।

कार्यक्रममा उपस्थित अधिकांशले यसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । डा.राम लामाले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १३ हजार ५०० मेगावाट नेपालमै खपत गर्ने योजना अघि सारेको जानकारी दिँदै यो खपतको लागि महत्वपूर्ण विकल्प हाइड्रोजन हुने बताए ।
उनले काठमाडौँ विश्वविद्यालयले लामो समयदेखि हाइड्रोजन विकासका क्षेत्रमा काम गरिरहेको बताउँदै एउटा हइड्रोजन कारको समेत सफल परीक्षण गरिसकेको बताए । ‘हाइड्रोजन उत्पादन भएपछि खपतमा समस्या हुँदैन । बिजुली पनि भण्डारण हुन्छ । हाइड्रोजनलाई यातायात क्षेत्रमा उपयोग गर्न सकिन्छ । अन्य देशहरूमा हाइड्रोजन गाडीहरू गुडिरहेका छन् । नेपाल भने भर्खर यसतर्फ लाग्दै छ । २०५० सम्म यसको माग व्यापक हुन्छ । त्यसैले हाइड्रोजन गाडीमा जानै पर्छ’ उनले भने ।
सरकारले आगामी ५ वर्षसम्म हाइड्रोसँग सम्बन्धित उपकरण आयात गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । अहिले निजी क्षेत्रको विद्युत् खेर जान थालेपछि उनीहरूले पनि यसतर्फ इच्छा देखाएका छन् । विद्युत् खेर गइरहेको क्षेत्रमा हाइड्रोजन हब स्थापना गर्न सकिने पनि उनले बताए ।
एनइए इन्जिनियरीङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन बिक्रम राणाले पनि हाइड्रोजनमा जानुपर्ने बताए । उनले पाइलट प्रोजेक्टको रुपमा अघि बढ्नुपर्ने बताए । जसका लागि उनले आवश्यक सल्लाह, छलफल तथा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का महासचिव बलाराम खतिवडाले बिजुली खेर फाल्नुभन्दा त्यही ठाउँमा पाइलट प्रोजेक्ट बनाउनुपर्ने बताए । ‘बिजुली खेर फाल्नु भन्दा हामी निशुल्क नै बिजुली दिन सक्छौ । यो नयाँ भएपनि भविष्य राम्रो छ । यसमा जानै पर्छ’ उनले भने ।
कार्यक्रममा उपस्थित अन्य सरोकारवालाहरूले पनि रिविन्सोलले अघि बढाएको काम धेरै राम्रो भएकाले आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

पहिलो प्रोजेक्ट पनौति जलविद्युत् केन्द्रमा
पनौति नेपालको तेस्रो जलविद्युत् केन्द्र हो । यसको क्षमता २.४ मेगावाटको रहेको छ । रिविन्सोलले पहिलो आयोजनाको रुपमा पनौति जलविद्युत् केन्द्रको ५०० किलोवाट विद्युत् उपयोग गरी हाइड्रोजन उत्पादन गर्ने योजना बनाएको छ । यसका लागि आवश्यक प्रविधि र कन्सल्ट्यान्टको काम रिविन्सोलले गर्नेछ ।
पहिलो पटकमा कम क्षमताको विद्युत् उपयोग गरी हाइड्रोजन उत्पादन परिक्षण गर्ने र सफल भएपछि मात्र ठूलो आयोजनामा जाने योजना छ । जमर्नीको अनुभव, अध्ययन अनुसन्धानलाई नेपालमा उपयोग गरी समृद्धि हासिल गर्ने, शुन्य कार्बन उत्सर्जन गर्ने सरकारको लक्ष्य पूरा गर्न मदत पुग्ने सैजुको विश्वास छ ।
रिविन्सोल नै किन ?
कम्पनील हरित ऊर्जा विकासका लागि दिगो र विश्वासीलो इन्जिनियरीङ परामर्श सेवा दिनेछ । रुफटप सोलार जडानका लागि कम्पनीले डिजाइन गर्ने, विकास गर्ने गर्दछ । यसैगरी, वायु ऊर्जा निर्माणका लागि सम्भाव्यता अध्ययनदेखि उत्पादन चरणसम्म कम्पनीले सहयोग गर्नेछ । साथै, देश विदेशमा रहेका नवीन प्रविधिको समेत जानकारीसहितको सञ्चालकहरू रहेकोले पनि यो कम्पनीलाई उत्कृष्ट मान्न सकिन्छ ।
यो कम्पनीका सञ्चालकहरूसँग हरित ऊर्जा क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ । नेपालमा विभिन्न जलविद्युत् आयोजना, सौर्य लगायतका हरित ऊर्जा परियाेजना निर्माण, सञ्चालन, विस्तार, प्रवर्द्धनमा काम गरिसकेका छन् । साथै, इलेक्ट्रोनिक्स सिस्टम एण्ड इन्जिनियरीङ म्यानेजमेन्टमा स्नाकोत्तर, हाइब्रिड इनर्जी सिस्टम र इनर्जी म्यानेजमेन्टमा पिएचडी गरेर कार्यानुभव समेत बटुलीसकेका छन् । जर्मनीमा हरित ऊर्जा जस्तैः सोलार, वायु, ऊर्जा भण्डारण, हाइड्रोजन लगायतमा अध्ययन अनुसन्धान साथै अध्यापन समेत गराइरहेका प्रो.डा.राजेश सैजु वायु ऊर्जा विज्ञ समेत हुन् ।