काठमाडाैँ । सानिमा बैंक लिमिटेडलाई चीनको निर्यात-आयात (एक्जिम) बैंकले दुई ठूला जलविद्युत आयोजनाका लागि वित्तीय सहजीकरण गर्न एजेन्ट बैंक नियुक्त गरेकाे छ । १३५ मेगावाटकाे मनाङ मर्स्याङ्दी हाइड्रो पावर र १२० मेगावाटकाे लाङटाङ भोटेकोशी हाइड्रो पावरका लागि चिनियाँ एक्जिम बैंकको तर्फबाट मध्येस्थकर्ताको भूमिका निर्वाह गर्न नियुक्त गरेकाे हाे ।
यसका लागि दुइ बैंकबीच सम्झाैता सम्पन्न भएकाे छ । सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र चाइना एक्जिम बैंक, सिचुआन शाखाकी उपाध्यक्ष सुश्री वु यानहुईले हस्ताक्षर गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्ट बैंकको रूपमा विश्वास गरेकोमा चाइना एक्जिम बैंकप्रति आभार व्यक्त गरे । उनले यस महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार हुनुका साथै समग्र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।








