काठमाडाैँ । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रो पावर प्रा. लि.को शेयर खरिद गरेको छ । भेन्चर्सले कालीगण्डकीको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेकाे हाे । यसका लागि भदौ १० मा शेयर खरिद सम्झौता सम्पन्न भएकाे थियाे ।
कालीगण्डकी गर्जले म्याग्दी र मुस्ताङ्गस्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको आंशिक जलाशययुक्त कालीगण्डकी गर्ज आयाेजना विकास तथा निर्माण गरिरहेको छ ।
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भइसकेकाे छ ।आयोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्व ६ बैंक तथा वित्तीय संस्थाहरूले कुल लागतको ७५ प्रतिशत अर्थात २९ अर्ब ६० कराेड रुपैयाँ लगानी गर्ने भएका छन् । बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ९ अर्ब रुपैयाँ रहेको छ भने सहअगुवा बैंकहरूः ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको छ । अन्य सहभागी बैंकहरूः हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबिआई बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँ गरी कूल २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ लगानी रहेको छ । योजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ छ ।
२०२९ जुनभित्र उत्पादन थाल्ने याेजना रहेकाे कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले २०७५ फागुनमा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिएकाे थियाे । २०७९ फागुण १७ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।