काठमाडाैँ । बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि सेयर निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आवेदन खुल्ला गरेकाे हाे ।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।








