काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाले दुई साताभित्र व्यवसायीक विद्युत् उत्पादन सुरु गर्ने भएको छ । तीन वटै युनिटको सफल परीक्षण गरेको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीले दुई साताभित्र व्यवसायीक उत्पादन सुरु गर्ने तयारी गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण सम्पन्न यो आयोजनामा ३४/३४ मेगावाट क्षमताको ३ वटा युनिट जडान भएको छ । यी तिनवटै युनिटको सफल परीक्षण सम्पन्न भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले बताए ।
‘आयोजनाको सबै परीक्षण सम्पन्न भइसकेको छ । अहिले प्राधिकरणले गर्ने १५ दिनको परीक्षणको तयारी भइरहेको छ,’ उनले ऊर्जा संचारसँग भने, ‘प्राधिकरणकाे १५ दिनको उत्पादन परीक्षण सफल भएपछि व्यावसायीक उत्पादन सुरु हुन्छ ।’
यो अवधिमा प्राधिकरणले निशुल्क विद्युत् लिनेछ । त्यसमा कुनै समस्या नआए असोजको दोस्रो सातादेखि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुने छ ।
आयोजनाको विद्युत् खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने बाह्रबिसे–३ पतालिमा रहेको बाह्रबिसे सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको छ । आयोजनाको निर्माण २०७० सालबाट सुरु भएको थियो । २०७३ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि २०७२ वैशाख १२ गतेको भूकम्प, त्यही वर्षको असोजदेखि भारतले लगानीको ५ महिना लामो नाकाबन्दी, बाढी, पहिरोलगायत विविध कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । विविध कारण ढिलाइ हुँदा आयोजनाको निर्माण लागत बढेकाे छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रो पावर कं. लि.को १, नेपाल अरनिको हाइड्रो पावर कम्पनी लि.को १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.को १ र सिन्धु भोटेकोशी हाइड्रो पावर लि.को १ प्रतिशत सेयर रहेको छ ।
४९ प्रतिशत साधारण शेयरधनी समुहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेका छन् । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।
आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।