Wednesday, October 29, 2025
spot_img

जेनजीको नाममा डकैतीः ऊर्जा क्षेत्रमा त्रास

spot_img

Share

spot_img

भदौ २३ र २४ गते देशभरी जेनजी आन्दोलन भयो । जेनजीहरूले भ्रष्टाचार विरुद्व गरेको आन्दोलन कारण सरकार परिवर्तन भयो । तर, जेनजीको नाममा केही समूहहरूले भने आफ्नो फाइदा खोजिएको देखिएको छ । आन्दोलनका क्रममा पनि जेनजीको नाममा देशका ठूला व्यापार व्यवसायलाई ध्वस्त बनाइयो । र आन्दोलन सकिएपछि पनि जेनजीको नाममा देशका विभिन्न स्थानमा अराजकता फैलाएको देखिएको छ ।

यसको उदाहरण हो सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ४५ मेगावाटको अप्पर भोटेकोशी जलविद्युत् आयोजना । यो आयोजना विगत एक महिनादेखि बन्द छ । भदौ २५ गते ‘भोटेकोशी गाउँपालिका जेनजी ग्रुप’ को नाममा केही युवाहरूले १० प्रतिशत निशुल्क सेयर माग गर्दै उत्पादन अवरोध गराएका थिए ।

उनीहरूले आयोजनाको हेडवर्क्समा प्रवेश गरी स्पिलवे गेटहरू खोल्न लगाएको भोटेकोशी पावर कमपनीले जनाएको छ । जेनजी समूहको माग पूरा नगरे आयोजना बन्द गर्ने चेतावनी दिएपछि उत्पादन बन्द गर्ने चेतावनी दिएका थिए । नेपाली सेनाले रोक्ने प्रयास गर्दागर्दै उनीहरू कन्ट्रोल रुपमा प्रवेश गरी गेट खोल्न लगाएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

यो आयोजनाले करिब २४ वर्ष अघि अर्थात सन् २००१ देखि विद्युत् उत्पादन गरिरहेको छ । सन् १९९६ मा कम्पनी स्थापना गरी यो आयोजना निर्माण गरिएको थियो । यो आयोजना निर्माणको क्रममा सर्वसाधारण र स्थानीयलाई सेयर निष्कासन गर्ने अवधारणको सुरु भएको थिएन । यो आयोजना अमेरिकाको पान्डा इनर्जी कम्पनीको लगानीमा निर्माण भएको हो ।

उत्पादन थालेको करिब ५ वर्षपछि अमेरिकन कम्पनी पान्डाले आफ्नो ९५ प्रतिशत सेयर नेपाली व्यवसायीलाई बिक्री गरेको हो ।

जेनजी समूहको माग

असोज २ गते भोटेकोशी गाउँपालिकाकै पहलमा पालिका कार्यालयमा आन्दोलनरत पक्ष र कम्पनीबीच वार्ता भएको थियो । तर, आन्दोलनकारीले १० प्रतिशत निःशुल्क सेयरकाे माग नछाडेपछि गाउँपालिका कार्यालयमै तोडफोड र आगजनी समेत गरे । त्यही क्रममा कम्पनीका प्रतिनिधिलाई १० प्रतिशत सेयर निःशुल्क दिने गरी सम्झौता गर्न बाध्य पारिएको कम्पनीले जनाएको छ । आफ्नो ज्यान जोगाउनका लागि भएपनि सम्झौतापत्रमा हस्ताक्षर गरिएको कम्पनीले जानकारी दिएको छ ।

भोटेकोशी जेनजी ग्रुपले प्रभावित क्षेत्रका स्थानीयबासिन्दालाई आयोजनाको १० प्रतिशत सेयर सित्तैँ दिनुपर्ने माग गरेका छन् । विगतमा पनि आयोजनासँग निःशुल्क सेयर दिने सहमति भएकोमा त्यो पालना नभएको र अब पनि नदिए आयोजना बन्द गर्न बाध्य हुने माग उनीहरूको छ ।

१० प्रतिशत सेयर दिन तयार छौ तर निशुल्क होइनः कम्पनी

आयोजनाले भने १० प्रतिशत सेयर स्थानीयलाई दिन तयार भए पनि सित्तैँ दिन भने नसकिने बताउँदै आएको छ । यो आयोजना निर्माण भइरहँदा सेयर निष्कासन गर्ने चलन नै थिएन । जसका कारण कम्पनीले सेयर निष्कासन गरेन ।

प्रभावित बासिन्दालाई निःशुल्क सेयर दिने विषय भोटेकोशी पावर कम्पनीको मात्रै नभई मुलुकको समग्र जलविद्युत् क्षेत्रलाई प्रभावित पार्ने खालको विषय हो । जसको निर्णय कम्पनीले एक्लैले गर्न नसक्ने बताउँदै आएको छ ।

सन् २०१४ मा सिन्धुपाल्चोकको जुरे पहिरोले प्रसारण लाइन बगाउँदा स्थानीयले कम्पनीसँग सेयर माग्दै पुनर्निर्माणमा अवरोध गरेपछि कम्पनीो ६ प्रतिशत सेयर स्थानीय प्रभावितलाई फेस भ्यालु अर्थात् प्रतिकित्ता १०० रुपैयाँका दरले दिने सहमति भएको थियो । तर, निशुल्क दिने सहमति भने नभएको कम्पनीले जनाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले यो समस्या समाधानको पहल गरिरहेका छन् । उनले १० प्रतिशत सेयर स्थानीयलाई दिनु उचित नै भए पनि निःशुल्क दिन नहुने बताए ।

२७ करोडको विद्युत् खेर

यो आयोजना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने वर्षायाममा दैनिक ९८ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्दै आएको थियो । पछिल्लो करिब २८ महिना उत्पादन प्रभावित हुँदा करिब २७ करोड रुपैयाँ भन्दा बढी आम्दानी गुमाउनु परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए ।

भोटेकोशीसँगै अन्य आयोजनालाई पनि धम्की

जेन–जी युवाहरूले सञ्चालनमा आइसकेको २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले १० प्रतिशत फ्रि–शेयर नदिए यहि असोज ३० गतेदेखि आयोजनाको विद्युत् उत्पादन बन्द गराउने धम्कि दिएका छन् ।

अहिले सिन्धुपाल्चोकमा सञ्चालनमा आइसकेका ३६ मेगावाटको माथिल्लो बलेफी ए, ७.२ मेगावाटको याम्बालिङ खोला, ९९० किलोवाटका सोलाङ खोला र घट्टेखोला जलविद्युत आयोजनामा पनि १० प्रतिशत निशुल्क शेयर माग गरिएको छ ।

त्यस्तै अन्य निर्माणाधीन जलविद्युत आयोजनाहरुमा २२.१४ मेगावाटको बलेफी ए, १.५ मेगावाटको तल्लो सेलाङ, ४६ मेगावाटको माथिल्लो बलेफी, ३५ मेगावाटको न्यासिम खोला, ६५ मेगावाटको दुधखोला लगायतका आयोजनामा पनि १० प्रतिशत फ्रि शेयर माग्दै जेन–जी र स्थानीय युवाहरूको नामबाट पत्र काटिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img