काठमाडाैँ । कोशी प्रदेशको ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाकाे वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो ।
आयोजनाको कुल अनुमानित लागत २३ अर्ब ४ करोड रुपैयाँमध्ये ७५ प्रतिशत रकम दीर्घकालीन आयोजना ऋणका रूपमा बैंक तथा वित्तीय संस्थाबाट जुटाइएकाे छ । बाँकी २५ प्रतिशत स्वपूँजी प्रवर्द्धकहरूले लगानी गर्नेछन् ।
आयोजनामा प्रमुख बैंककाे रूपमा सिद्धार्थ बैंक लिमिटेड र को–लीड बैंककाे रूपमा माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन् । यससँगै कृषि विकास बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेड लगायतका बैंक तथा वित्तीय संस्थाहरू सहवित्तीयकरणमा सहभागी छन् ।
सम्झौतामा कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंक लिमिटेडका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले २०७७ असोज २५ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति पत्र प्राप्त गरेकाे हाे ।नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता २०८० असोज २४ गते सम्पन्न भइसकेको छ ।
हालसम्म आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । आयोजनाकाे काम साढे ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकाे छ । २०८५ असोज २५ गतेदेखि व्यावसायिक उत्पादन तालिका ताेकिएकाे छ ।








