काठमाडाैँ । सरकारले चालु आर्थिक वर्षको हालसम्म तीनवटा प्रसारणलाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारणलाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारणलाइन ७५ किलोमिटर लामो रहेको छ ।
कूल ४०० केभी क्षमताको सो प्रसारणलाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सो प्रसारणलाइन निर्माण गर्दैछ ।
३३ केभी क्षमताको खोरुङगा खोला प्रसारणलाइन निर्माणका लागि पनि अनुमति दिएको छ । सो प्रसारणलाइन ४.३८ किलोमिटर रहेको छ । सो प्रसारणलाइनले ४.८ मेगावाट बिजुली प्रवाह गर्छ । जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रणालीमा जोडनका लागि सो प्रसारणलाइन निर्माण हुन लागेको हो ।
सुपर सर्दी खोला हाइड्रोपावरले पनि उत्पादित बिजुली प्रणालीमा जोडनका लागि ३३ केभी क्षमताको ३.६८ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्दैछ । सो प्रसारणलाइनमा २.९ मेगावाट बिजुली प्रवाह हुनेछ ।
विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारणलाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ ।
चालु आवको हालसम्म कूल आठवटा प्रसारणलाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिइएको छ । ती आयोजनामा १३२ केभी क्षमताको मध्य चमेलिया रहेको छ ।
बेल्डिया सोलार पावर परियोजना, फालेखु खोला १३२ केभी प्रसारण लाइन परियोजना, जानकी सोलार पावर प्रसारणलाइन, दुधकोशी पाँचौँ २२० केभी प्रसारणलाइन परियोजना, समुन्द्रटार लप्सेफेदी २३२ केभी प्रसारणलाइन निर्माणका लागि अनुमति दिइएको छ ।
डाडाँखेती बुर्तीबाङ १३२ केभी प्रसारणलाइन र सानी भेरी १३२ केभी प्रसारणलाइन परियोजना छन् । विभागले हालसम्म कूल १४४ प्रसारणलाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिएको छ ।
विभागमा हालसम्म कूल सर्वेक्षण अनुमतिपत्रका लागि कूल २१ वटा प्रसारणलाइनको आवेदन परेको छ । त्यसमध्ये चालु आवको हालसम्म मात्रै ११ परियोजनाले अनुमतिका लागि आवेदन दिएका छन् । रासस








