काठमाडौँ । विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले निजी क्षेत्रको कार्यक्षमता अभिवृद्धि हुने र सहभागगि बढ्ने गरी आयोगले काम गर्ने बताएका छन् । बिहीबार नविकरणीय ऊर्जा प्रवर्द्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिहरूले दिएको बधाई तथा सुभकामना ग्रहण गर्दै अध्यक्ष धितालले यस्तो बताएका हुन् ।
उक्त अवसरमा नेपाल नविकरणीय उर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले विद्यमान परिप्रेक्ष्यमा आयोगले जलविद्युत् बाहेकका ऊर्जा प्रविधिहरूको सम्वोधन गर्नुपर्ने र विद्युत ऊर्जा उत्पादनतर्फ निजी क्षेत्रको सहभागिता सुरक्षित हुने वातावरण निर्माण गर्न सुझाव दिए ।
अध्यक्ष धितालले निजी क्षेत्रको कार्यक्षमता अभिवृद्धि गर्न सकिने र सहभागिता हुने कामका लागि सहकार्य गर्न आयोग सकारात्मक रहेको बताए । यसैगरी विद्युत ऊर्जा अन्तर्गत जलविद्युत बाहेकका प्रविधिहरूको उपयोगका लागि उपयुक्त वातावरणका लागि पहल गर्ने जानकारी दिए । उनले ऊर्जा दक्षता, ऊर्जा सुरक्षा र ऊर्जा मिश्रणका सम्बन्धमा निजी क्षेत्रको सहयोग आवश्यक पर्ने बताए ।
यसैगरी सदस्यहरु डा.मधुसुदन अधिकारी, झमक प्रसाद शर्मा र गौतम डंगोलले पनि आ–आफ्नो मन्तव्य व्यक्त गर्दै सबैको सहयोगबाट अपेक्षित परिणाम हासिल गर्न सकिने विचार व्यक्त गरे ।
जी क्षेत्रका तर्फबाट उद्यमीहरू नबिन भुजेल, राम बहादुर भण्डारी, नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, नेपाल सौर्य तापीय संघका अध्यक्ष केशवराज खनाल, नेपाल बायोग्यास प्रवर्द्धन संघका अध्यक्ष उपेन्द्र रिमाल, किरण गौतम, इन्द्र खनाल, उत्तम सिटौला, सञ्जीव पोखरेलले पनि विभिन्न उर्जा प्रविधिका उपादेयताका लागि पहल गर्नुपर्ने विचार व्यक्त गरे ।