‘म पनि यही उड्ने गाडी हेर्नु नै आएकी हुँ । प्रर्दशनीमा उड्ने कार राखिएको छ भन्दा अनौठो लाग्यो । हेलिकप्टर, हवाई जहाज थाहा छ तर उड्ने कार भन्दा हेर्न इच्छा जाग्यो त्यही भएर हेर्नु आए’ ‘नाडा अटो शो’ अवलोकन गरिरहेकी संगिता क्षेत्रिले भनिन् ।
अर्को अवलोकनकर्ता दिवश कार्कीले भने ‘मलाई यो उड्ने गाडीको कन्सेप्ट राम्रो लाग्यो । नेपालमा अझैपनि कति धेरै क्षेत्रमा सडक विस्तार भएको छैन । गाडीको सुविधा छैन । समयमा अस्पताल पुग्न नपाउँदा कतिपयले अकालमै मृत्युवरण गर्नु परेको छ । यस्तो अवस्थामा यो उड्ने कारले सेवा दिन सक्छ । यसतर्फ राज्यको ध्यान जानुपर्छ’
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो’ को मुख्य चर्चामा रहेको छ ‘उड्ने ट्याक्सी’ । मंगलबारदेखि सुरु भएको नाडाको १७औं प्रदर्शनीमा सबैको ध्यान यसैले खिचेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेलसहित देशभरका युवा, यद्यमी, व्यवसायी, उपभोक्तालाई उत्साहित बनाउने यो ‘ट्याक्सी’ चिनियाँ अटोमेकर कम्पनी चांगान–इहाङको उत्पादन हो । चीनमा बीवाईडीपछिको दोस्रो प्रतिस्पर्धी मानिएको चांगानले यसलाई ‘सहरी हवाई आवागमनका लागि डिजाइन गरिएको’ ड्रोन कार भनेको छ ।
दीपल ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प प्रालिले नेपालमा पहिलो उड्ने कारलाई प्रदर्शनीमा राखेको हो । एमएडब्लूले चिनियाँ कार निर्माता चांगान–इहाङ अटोसँग सहकार्य गर्दै नेपालमा नयाँ युगको मोबिलिटी सुरुवात भएको सन्देश दिन स्वचालित इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ हवाई कार सार्वजनिक गरेको छ ।
नाडा टाइटल स्पोन्सरमा रहेको एमएडब्लूले भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक उड्ने कारलाई रोमाञ्चक तरिकाले प्रस्तुत गरेको छ ।
बढ्दो ट्राफिक जाम र सहरीकरणलाई मध्यनगर गर्दा उड्ने कारले यात्रालाई छिटो, सुरक्षित र वातावरणमैत्री बनाउछ । विशेष गरी नेपालजस्तो पहाडी भू–भाग भएको मुलुकमा यसको सम्भावना अझै बढी छ । नेपालमा यस कारको प्रयोगअघि आधारभूत पूर्वाधार जस्तै चार्जिङ स्टेसन, ट्राफिक व्यवस्थापन प्रणाली निर्माण र नीति तथा कानुन बनाउनु आवश्यक छ ।
अत्याधुनिक सुरक्षा प्रणाली समेटिएको हवाई ट्याक्सीका लागि मानव पाइलट/चालक आवश्यक पर्दैन । प्रदर्शनीमा राखिएको मोडल दुई सिट भएको हवाई कार हो । यो पूर्ण स्वचालित उडान क्षमता भएको यन्त्र हो ।
करिब ६ सय किलो भार बोकेर साधन अधिकतम १३५ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । यो एक पटक पूरा चार्ज गर्दा ३० किलोमिटर दूरी वा २५ मिनेटसम्म उडान गर्न सक्छ ।
भूबनोट जटिल भएकाले सबै जिल्लामा यातायात सहज छैन । दुर्गम भूभाग र विकट क्षेत्र अझै सडकको पहुँचबाहिर छन् । पक्की सडक अभावले ग्रामीण समुदायलाई सहरी केन्द्रमा जोड्न कठिनाइ छ ।
भाैगोलिक विकटता कारण समयमा उपचार नपाएर वर्षेनी हजारौ मानिसको ज्यान गएको छ । यस्तो अवस्थामा यो कारले केही मात्रामा सेवा दिन सक्नेछ । यसका लागि आवश्यक मापदण्ड, नीति कानून निर्माण गरेर यसतर्फ अघि बढ्न जरुरी छ ।