Sunday, October 5, 2025
spot_img

रुकुमपूर्वकै सबैभन्दा ठूलो सानीभेरीमा ५ बैंकको ७ अर्ब २० करोड लगानी

spot_img

Share

spot_img

काठमाडौँ । रुकुमपूर्वमा निर्माण अघि बढेको ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत् आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ७ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेगरी सम्झौता सम्पन्न भएको छ ।

एक्सपर्ट हाइड्रो इन्टेष्टमेन्ट प्रालिले अघि बढाएको आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सोमबार अर्थात भदौ १६ गते सम्पन्न भएको हो । बैंक तथा वित्तीय संंस्थाहरूले आयोजनामा कूल लगानीको ७५ प्रतिशत ऋण लगानी गर्नेछन् । बाँकी २५ प्रतिशत स्वपूँजी लगानी रहनेछ ।

आयोजना निर्माण सम्पन्न गर्न ९ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सन्तोसराज नेपाल र नेतृत्वकर्ता सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरे ।

आयोजनामा सिटिजन्स बैंकको २ अर्ब ५० करोड, नबिल बैंकको १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब २० करोड, सानिमा बैंकको १ अर्ब र सिद्धार्थ बैंकको १ अर्ब रुपैयाँ लगानी रहनेछ ।

प्रवर्द्धक कम्पनीका प्रबन्ध निर्देशक नेपालले आयोजनाले ऊर्जा क्षेत्रको विकाससँगै सशक्तीकरणमा योगदान गर्ने र रुकुमपूर्वको आर्थिक समृद्धि र दिगो विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले यो आयोजना रुकुम पूर्वकै सबैभन्दा ठूलो आयोजना भएको जानकारी दिए ।

कार्यक्रममा पूर्व मन्त्रीसमेत रहेका सांसद जनार्दन शर्माले समुद्रको ११ किलोमिटरमुनिबाट ऊर्जाको स्रोत खोजिरहेको बताउँदै नेपालले प्राकृतिक रूपमा प्राप्त जलस्रोतको उपयोग गरी सकेसम्म छिटो विद्युत् उत्पादन गर्नुपर्ने बताए । उनले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा विशेष जोड दिनुपर्ने बताए ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले युवा समूहले अघि बढाएको आयोजना समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजना चाँडो निर्माण हुने अपेक्षा गर्दैगर्दा प्राधिकरणले निर्माण अघि बढाएको बाफिकोट–खुङ्ग्री १३२ केभी डबल सर्किट प्रसारण लाइन र बाफिकोट सबस्टेसन चाँडो सम्मन्न गर्नुपर्ने दबाव रहेको बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले सरकारले पीपीए खोले १० वर्षभित्रै सबै आयोजना निर्माण सक्ने क्षमता निजी क्षेत्रसँग भएको दाबी गरे । उनले अझै पनि बिजुली किनेर लोडसेडिङ मुक्त भएको बताउँदै निजी क्षेत्रमैत्री नीति तथा वातावरण बनाउने आवश्यक रहेको बताए ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई आयोजनाले सहयोग गर्ने बताए । उनले आयोजनाले रुकुमपूर्वका साथै समग्र नेपालकै आर्थिक सामाजिक विकासमा योगदान पु¥याउने बताए । बैंकको तर्फबाट हुने जुनसुकै प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाउँदै पोखरेलले समयमै आयोजना सम्पन्न नभए लगानी बढ्दै जाने हुनाले सकेसम्म निश्चित समयअगावै उत्पादन थाल्ने गरी काम गर्ने आग्रह गरे ।

आयोजनाको विवरण

यो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो । क्यू ४३मा डिजाइन गरिएको यो आयोजना जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१४ र सिस्ने गाउँपालिका–२ मा निर्माण हुने छ । आयोजनाले २०७९ माघ १२ गते विद्युत् उत्पादन अनुमति पाएको हो । २०८० असार २७ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । आयोजनाको निर्माण ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट उत्पादीत विद्युत् २३ किलोमिटर दुरीमा नेपाल विद्युत् प्राधिकरणद्वारा प्रस्तावित बाँफीकोट सबस्टेसनमा जोडिने छ । लाइन निर्माणका लागि सर्वेक्षण अनुमति प्राप्त गरी वातावरणीय अध्ययनको प्रक्रिया अघि बढाइरहेको प्रबन्ध निर्देशक नेपाले जानकारी गराए ।

आयोजनाले उत्पादन थालेपछि पहिलो वर्ष प्रतिमेगावाट ३ करोड ८३ लाख रुपैयाँ आम्दानी गर्ने र ८औं वर्षसम्ममा वार्षिक आम्दानी ४ करोड ८० लाख पुग्ने अनुमान गरिएको छ । हालसम्म हेडवक्र्स तथा विद्युत्गृहका लागि आवश्यक जग्गा खरिद, स्थानीय बासिन्दाको पुनर्वास, पहुँच मार्ग निर्माण, विस्फोटक पदार्थ भण्डारण बंकर तथा सुरक्षाका लागि नेपाली सेनाको आवासको अनुगमन सकिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img