काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको उत्पादन परीक्षण सफल भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण सम्पन्न भएको आयोजनाको पहिलो युनिट ३४ मेगावाटको उत्पादन परीक्षण भएको हो ।
प्रवर्द्धक कम्पनी मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सोमबारदेखि पहिलो युनिटको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । पहिलो युनिटको सफल परीक्षण भएसँगै अब दोस्रो र तेस्रो युनिट पनि परीक्षण उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ । सबै परीक्षण सफल भए असोजको पहिलो सातादेखि नै पूर्ण क्षमतामा आयोजनाबाट १५ दिनको परीक्षण उत्पादन सुरु हुने छ । त्यसमा कुनै समस्या नआए असोजको दोस्रो सातादेखि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुने छ ।
आयोजनाको विद्युत् खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने बाह्रबिसे–३ पतालिमा रहेको बाह्रबिसे सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको छ । आयोजनाको निर्माण २०७० सालबाट सुरु भएको थियो । २०७३ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि २०७२ वैशाख १२ गतेको भूकम्प, त्यही वर्षको असोजदेखि भारतले लगानीको ५ महिना लामो नाकाबन्दी, बाढी, पहिरोलगायत विविध कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । विविध कारण ढिलाइ हुँदा आयोजनाको निर्माण लागत १५ अर्बभन्दा बढी पुगेको छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रो पावर कं. लि.को १, नेपाल अरनिको हाइड्रो पावर कम्पनी लि.को १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.को १ र सिन्धु भोटेकोशी हाइड्रो पावर लि.को १ प्रतिशत सेयर रहेको छ ।
४९ प्रतिशत साधारण शेयरधनी समुहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेका छन् । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।
आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।