काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विगत १ महिनादेखि बन्द ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि निर्देशन दिएको ५ दिन भइसकेको छ । तर, अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
स्थानीयले जेनजीको नाममा १० प्रतिशत निशुल्क सेयर माग गर्दै आयोजनाको विद्युत् उत्पादन बन्द गरेका छन् । गृहमन्त्री अर्यालले उत्पादन पुन सूचारु गर्न गत बुधबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई निर्देशन दिएका थिए । निर्देशन दिएको ५ दिन बितीसक्दा पनि उत्पादन सुचारु हुन सकेको छैन ।
जेनजीका नाममा सेयर मागेर ऊर्जा उद्यमीलाई दुःख दिइएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीले बुधबार साँझ गृहमन्त्री अर्याललाई भेटेर सुरक्षा माग गर्दै अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग गरेका थिए । यसपछि, गृहमन्त्री अर्यालले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए ।
स्थानीयले निशुल्क सेयर माग गर्दै आएका छन् भने कम्पनीले निशुल्क सेयर दिन नसकिने बताउँदै आएको छ । अहिले दुवै पक्षबीच छलफल भइरहेको छ । आयोजनाले भने १० प्रतिशत सेयर स्थानीयलाई दिन तयार भए पनि सित्तैँमा भने दिन नसकिने बताउँदै आएको छ । यो आयोजना निर्माण भइरहँदा सेयर निष्कासन गर्ने चलन नै थिएन । जसका कारण कम्पनीले सेयर निष्कासन गरेन ।
लामो समयदेखि उत्पादन बन्द हुँदा कम्पनीलाई करोडौंंको घाटा भइसकेको छ । यो आयोजना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने वर्षायाममा दैनिक ९८ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्दै आएको थियो ।
जेनजीको नाममा सिन्धुपाल्चोकमा सञ्चालित १४ बढी हाइड्रो पावरलाई १० प्रतिशत निःशुल्क सेयर माग्दै आयोजना बन्द गर्ने पत्र पठाएपछि ऊर्जा उद्यमीहरू आतंकित भएका छन् ।








