काठमाडाैँ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाले व्यवसायीक विद्युत् उत्पादन सुरु गरेकाे छ । तीन वटै युनिटको सफल परीक्षण गरेको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीले उत्पादन परीक्षण सफलता पूर्वक सम्पन्न गरी व्यापारीक उत्पादन सुरू गरेकाे हाे ।
नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत खरिद गर्न थालेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले बताए । ‘प्राधिकरणले गत असोज २० गते देखि नै उत्पादित विद्युतको भुक्तानी पाउने जानकारी दिएको हाे,’ उनले उर्जा संचारसँग भने । प्राधिकरणले बर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद गर्नेछ । पूर्ण क्षमतामा उत्पादन भएमा मध्य भोटेकोशीले विद्युत बिक्रीबाट दैनिक करिब १ करोड २० लाख रुपैयाँ आम्दानी गर्नेछ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण सम्पन्न यो आयोजनामा ३४/३४ मेगावाट क्षमताको ३ वटा युनिट जडान भएको छ ।
आयोजनाको निर्माण २०७० सालबाट सुरु भएको थियो । २०७३ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि २०७२ वैशाख १२ गतेको भूकम्प, त्यही वर्षको असोजदेखि भारतले लगानीको ५ महिना लामो नाकाबन्दी, बाढी, पहिरोलगायत विविध कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । विविध कारण ढिलाइ हुँदा आयोजनाको निर्माण लागत बढेकाे छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रो पावर कं. लि.को १, नेपाल अरनिको हाइड्रो पावर कम्पनी लि.को १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.को १ र सिन्धु भोटेकोशी हाइड्रो पावर लि.को १ प्रतिशत सेयर रहेको छ ।
४९ प्रतिशत साधारण शेयरधनी समुहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेका छन् । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।
आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ ।








