काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यसवर्षको तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने गरी व्यवस्थापन गरेको छ । प्राधिकरणले लक्ष्मीपूजाका दिन बिजुली आपूर्तिमा कुनै समस्या नआउने जनाएको छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहारमा जति नै बिजुली प्रयोग गरेपनि समस्या नहुने प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । ‘ढुक्कसँग विद्युत् उपयोग गरे हुन्छ । उत्पादन पनि छ र डिमाण्डअनुसारको विद्युतीय संरचना पनि छ,’ उनले भने, ‘पहिले तिहारमा लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुने हुँदा आपूर्तिमा समस्या हुन्छ भन्ने बुझाई थियो । तर, अहिले त्यस्तो हुँदैन । कहि कतै फिडरमा समस्या आउन सक्ला ।’
तिहारको समयमा उद्योगधन्दाहरू बन्द हुने भएकोले औद्योगिक क्षेत्रमा खपत हुने ठूलो मात्रामा बिजुली बचत हुन्छ । जसलाई घरायासी प्रयोजनमा सहजै उपलब्ध हुन्छ ।
अहिले नेपालको विद्युत् जडित क्षमता करिब ४ हजार मेगावाट रहेको छ । नेपालको पिक डिमाण्ड करिब २२०० मेगावाटको हाराहारीमा छ । लक्ष्मीपूजाको दिन केही बढ्न सक्ने प्राधिकरणले जनाएको छ । डिमाण्ड बढेपनि आपूर्तिमा समस्या नहुने ढकालले जानकारी दिए ।








